भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका मुख्य प्रतिस्पर्धी तीन संगठन अहिले कसरी चुनाव जित्ने भन्ने ध्याउन्नमा छन् । तर, भक्तपुर क्याम्पसमा भने माहौल फरक छ । अन्यत्र मुख्य प्रतिस्पर्धी बनेका नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारी भक्तपुरमा मिलेर उमेदवारी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीको भातृ संगठनको दवदवा रहेका कारण नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन एक भएर चुनाव लड्न लागेका हुन् । एक्ला एक्लै उठ्दा चुनाव जित्न नसक्ने भएपछि प्रतिस्पर्धी संगठन एक भएर चुनाव लड्न लागेको नेपाली कांग्रेसका एक नेताले बताए ।
ती नेताका अनुसार, स्ववियु भक्तपुर क्याम्पसको सभापति र कोसाध्यक्षमा नेविसंघले उम्मेदवारी दिनेछ । त्यसैगरी उपसभापति र सचिवमा अखिलका उम्मेदवार रहनेछन् भने सहसचिवमा क्रान्तिकारीका उम्मेदवारलाई सघाउँने सहमति बनेको छ । सदस्यमा पनि तीनवटै संगठनका उम्मेदवारले संयुक्त रुपमा उम्मेदवारी दिने बताइएको छ ।
आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ६२ वटा आङ्गिक क्याम्पसमा स्ववियू निर्वाचन हुँदैछ । जसमा करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता छन् । जसमध्ये काठमाडौं उपत्यकाका २१ क्याम्पसमा निर्वाचन हुँदैछ । ती क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थीले स्ववियू निर्वाचनमा भागलिने त्रिविले जनाएको छ ।
यस्तो छ चुनावी कार्यतालिका
स्ववियू निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई शुक्रबार मनोनयन पत्र वितरण गरिएको छ ।
आज शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
भोलि फागुन २८ गते उम्मेदवारमाथि दाबी–विरोध र छानविन हुँदैछ ।
फागुन २९ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली रहेको छ ।
फागुन २९ देखि चैत २ गते मध्यरातिसम्म निर्वाचन प्रचारप्रसारको समय रहेको छ ।
त्यसपछि चुनाव नहुन्जेलसम्म मौन अवधि र चैत ५ गते मतदानको दिन रहेको छ ।
स्ववियू निर्वाचनको मतदान चैत ५ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।