भक्तपुर नगरपालिकाले पीडितको आवाज सुनेन 

150

भक्तपुर । भक्तपुर नगरपालिकाले विगत एक वर्ष देखि आफ्नै नगर बासीको पीडामा बेवास्ता गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आयोजनाले मनोमानी रूपमा जग्गा कटौती गरी स्थानीयलाई पीडा थोपरेको भन्दै आन्दोलनमा उत्रेका करिब १५ सय जग्गा धनीहरूलाई बेवास्ता गर्दै आएको छ ।

धेरै प्रतिशत जग्गा कटौती गरी स्थानीयलाई भूमिहीन बनाउन खोजिएको भन्दै किसानहरूले भक्तपुर नगरपालिका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय नापी धाउँदा धाउँदा दिक्क भई सकेका छन् ।

हाल पीडितहरू आयोजनाको कार्यालयमा धर्ना दिन बाध्य भएका छन् ।

जग्गा एकीकरण आयोजना पीडित सङ्घर्ष समिति बनाई किसानहरूले पूर्वाग्रही रूपमा गरिएको जग्गा वितरण खारेजको माग गर्दै जुलुससहित आयोजनाको कार्यालयमा धर्ना दिन पुगेका छन्  ।

सरकारी मापदण्ड कायम भइसकेको सडक जोडिएका कित्ताहरूमा बाटोको योगदान खारेजी, आयोजना सुरु हुनुअगाडि नै फराकिलो भएको सल्लाघारी नगरकोट सडक जोडिएको जग्गाको योगदान कटौती खारेजलगायत माग उनीहरूको रहेको छ ।

आयोजनाले कसैलाई काखा र कसैलाई पाखा लगाउँदै ८०  प्रतिशतसम्म जग्गा कटौती गरेको प्रति सङ्घर्ष समितिले आपत्ति जनाएका छन् । उनीहरूले आयोजनामा जग्गा पनि किसानको आयोजना पुरा गर्न जग्गा कटौती पनि किसानको अनि पीडा पनि किसानलाई नै दिनु नगरपालिकामा रहेका केही व्यक्तिको व्यक्तिगत फाइदाका लागि भएको खेल भन्दै यसको विरोध गरेका हुन ।

पीडित उपभोक्ताको गुनासो दर्ता गरी सम्बोधन नगरपालिका र आयोजनाले गर्नु पर्नेमा उल्टै धम्काउने र मनोमानी तवरबाट जग्गा कटौती गरिँदै आएको प्रति सङ्घर्ष समिति अध्यक्ष गोपालकृष्ण याकामीले आपत्ति जनाएका छन् ।

१६ सय ५४ रोपनी जग्गामा आयोजना सञ्चालित रहेको छ । करिब तीन हजारभन्दा बढी परिवारको जग्गा रहेको उक्त आयोजनामा ६७२ घर रहेको छ  जो आयोजनाका प्रत्यक्ष पीडित हुन तथापि आयोजनाबाट ९० प्रतिशत किसान मर्कामा परेको सङ्घर्ष समितिले जनाएको छ ।

लामो समय देखि विरोध गरे पनि नगरपालिका र आयोजनाले कुनै सुनुवाइ नगरेको भन्दै सङ्घर्ष समितिले अव कडा आन्दोलनमा उत्रने जनाएको छ ।