स्ववियु निर्वाचन : निर्धक्क भएर मतदान गर्न त्रिभुवन विश्वविद्यालयको आग्रह

86

भक्तपुर । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । बिहान ८ बजेदेखि हुने निर्वाचनका लागि तयारी पूरा भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । योग्य नेतृत्व चयन गर्न विवेक प्रयोग गरी निर्धक्क रूपमा मतदान गर्न विश्वविद्यालयले आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । तीमध्ये ४८ वटा आङ्गिक र एक तिहाइ सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुन लागेको हो । तर, विद्यार्थी सङ्गठनबिचको विवादका कारण काठमाडौँ उपत्यकाका रत्न राज्य, त्रिचन्द्र, मीन भवन, पाटन, आयुर्वेदलगायत १२ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ भने धनकुटा र गोरखा क्याम्पसमा नेतृत्व निर्विरोध निर्वाचित भइसकेको छ । स्ववियु निर्वाचन प्रत्येक दुई वर्षमा हुनुपर्ने प्रावधान छ । २०७३ सालमा २६ वटा आङ्गिक क्याम्पसमा भए पनि २०६५ यता अधिकांश क्याम्पसमा नियमित चुनाव हुन नसकेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्ववियुका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनिनेछन् भने उपाध्यक्ष तथा सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट छानिनेछन् ।

विद्यार्थीको हक हित र शैक्षिक उन्नयनका लागि महत्त्वपूर्ण मानिने स्ववियु निर्वाचनमा योग्य र इमानदार नेतृत्व चयन गर्न विश्वविद्यालयले सबै विद्यार्थीमा आग्रह गरेको छ ।

स्ववियु निर्वाचनमा प्रमुख राजनीतिक दलका विद्यार्थी सङ्गठनबिच नै मुख्य प्रतिस्पर्धा हुनेछ ।