बागमती प्रदेशसभा मुख्यमन्त्रीले विश्वासको मत चैत १० गते लिने

79

८ गतेको बैठक स्थगित
भक्तपुर ।
बागमती प्रदेशसभाको बुधबार ८ गतेका लागि अपराह्न गरिएको बैठक स्थगित छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकोमा नेपाली कांग्रेसको अनुरोधमा स्थगित गरिएको हो ।

कांग्रेसको आज बैठकमा उपस्थित हुन नसक्ने अनुरोधपछि चैत १० गतेको समय माग भएअनुरुप सत्ता पक्ष र प्रतिपक्षको सहमतिमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको र राप्रपाका मन्त्रीहरूले फागुन १६ गते मन्त्री पदबाट राजीनामा दिई पार्टीको तर्फबाट दिइएको समर्थन फिर्ता लिएको थियो ।
कुनै पनि पार्टीले समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा सरकारले विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।