भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ ।
नेपाल शिक्षक सङ्घको ९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधार भएन भनेर मात्र केही हुन्न पहिला शिक्षकका समस्या समाधान हुनु पर्यो तब शिक्षा सुधार आफै हुन्छ ।
शिक्षक भनेका काँचो माटोलाई आकार दिने कुमाले जस्तै साना नानीलाई भविष्य देखाउने ऐना हुन् उनीहरूका समस्या समेत सम्बोधन नहुँदा देशमा शैक्षिक सुधार हुन नसकेको उहाँको धारण थियो ।
यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले विद्यार्थीलाई कस्तो बनाउने भन्ने शिक्षकको हातमा हुने बताउनुभएको छ ।
उहाँले विद्यार्थीलाई भविष्यमा कस्तो बनाउने भन्ने सोच्नु पर्ने शिक्षकलाई मेरो जागिर कुन दिन जाने हो म कहिले राहतबाट हट्ने हो तलब कहिले पाउने हो भन्ने जस्ता विविध समस्यामा अल्झनु परेको तितो अनुभव पोख्नुभयो ।
उहाँले शिक्षा सुधारमा कसरी हातमा हात बढाउन सकिन्छ भनी हातेमाले गर्ने दिन आएको बताउनुभयो ।
कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवालाहरूले शिक्षा सुधारमा शिक्षकको समस्या समाधान हुनु पर्नेमा जोड दिएका थिए ।