पठानको विश्वव्यापी व्यापार १०४६ करोड

16

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको फिल्म पठानले विश्वव्यापी १०४६ करोडको व्यापार गरेर पछिल्लो समय सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको छ ।

यसरी विश्वव्यापी रूपमा विशेष रेकर्ड बनाएको पठानले सबै भाषासहित भारतीय बक्स अफिसमा ५ सय ४० करोडको कलेक्सन गरेको छ । हिन्दीमा मात्रै यो फिल्मले ५२१.५० करोड कमाएको छ ।

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ थिएटरपछि अब ओटीटीमा रिलिज भएको छ । बक्स अफिसमा धमाका कमाएपछि फिल्मले अब ओटीटीमा पनि कीर्तिमान बनाइरहेको छ । पठानले ओटीटीमा रिलिज भएको १२ घण्टाभित्र रेकर्ड बनाइरहेको छ । निकै छोटो समयमा यो फिल्म ओटीटीमा सर्वाधिक हेरिने बलिउड फिल्म बन्दै छ ।

बिदा नभएको दिन पनि भारतमा ओटीटीमा सबैभन्दा छोटो समयमा धेरै व्यापार गर्न पठान सफल भएको छ । यो फिल्म ओटीटीमा अहिले ट्रेन्डिङ १ मा रहेको छ । पठानले २२ मार्चमा डिजिटल संसारमा प्रवेश गरेको हो । सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्म ओटीटी प्लेटफर्म प्राइममा प्रिमियर भएको हो । सिनेमा हलमा रिलिज गर्दा नराखिएका केही दृश्य पठानको ओटीटी संस्करणमा राखिएको छ । जसका कारण दर्शकले ओटीटीमा फेरि यसलाई हेरेका छन् ।

जनवरी २५ मा विश्वभर रिलिज भएको फिल्मले ओपनिङसँगै कीर्तिमान बनाएको थियो । अहिले पनि ओटीटीमा पनि उस्तै व्यापार गरिरहेको छ । बक्स अफिस ५ सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो हिन्दी फिल्म बनेको छ ।