स्वास्थ्य परीक्षण नगरी पशुवध अस्वस्थकर मासु खुवाउँदै महानगर

132

काठमाडौं । राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ । तर, अचम्म, महानगरमा हरेक दिन सयौंको संख्यामा पशुचौपाया वध गरिँदा त्यसको कुनै स्वाथ्य परीक्षण नै गरिँदैन । केवल वर्षमा एकपटक दशैंमा मात्र स्वास्थ्य परीक्षण गरेको चौपायाको मासु खान पाइन्छ । पछिल्लो समय मासु पसल अनुगमनमा महानगरले अलि चासो दिन थालेको छ ।

‘हाम्रो चाहना महानगरबासीलाई स्वस्थ मासु खुवाउने हो, कसरी खुवाउने भन्ने विषयमा बल्ल अनुगमन गर्न थालेका छौं’ –कामपा कृषि तथा पशुपक्षी विभागका निर्देशक बलराम त्रिपाठीले भने । ‘महानगरसँग पशु चिकित्सक छन्, उहाँहरूबाटै मासु निरीक्षण जारी राखेका छौं’ –उनको भनाइ छ । पशु चिकित्सकद्वय डा अवधेश झा र डा। पूजा खनालले मासु पसलको अनुगमन गरिरहेको उनले जानकारी दिए।

तर, कामपाले अनुगमन गरेको जनाए पनि खासै उपलब्धि देखिँदैन । करिब ४० लाख जनसंख्या बसोबास गर्ने कामपाभित्र त्यहाँका बासिन्दालाई मासु खुवाउन कस्तो चौपाया वध गरिन्छ भन्ने विषयमा कामपा स्वयं अनविज्ञ छ । ‘बल्ल पसल अनुगमन शुरू गर्न थालेका छौं, वधशाला र चौपाया वध गर्ने स्थानको खासै अनुगमन भएको छैन’ –निर्देशक त्रिपाठीले भने । केही महिनापछि परिणाम आउने गरी काम हुने उनले दाबी गरे ।

कामपाको अनुगमन टोलीले खाद्यान्न र मासुको एकैसाथ अनुगमन गर्ने गरेको छ । निर्देशक त्रिपाठीले भने– ‘मासु निरीक्षक, भेटेनरी र एक जना प्रशासनको विज्ञ टोलीसहित अनुगमनमा खटिनेछन्, टोलीले परिणाम निकाल्ने गरी काम गरिरहेको छ ।’ सरकारले मासु ऐन जारी गरेको २०५५ सालमा हो । कामपाले ऐनलाई आधार मानेर बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०७७ जारी गरी अनुगमन गरेको छ ।

चालू आर्थिक वर्षको बजेटमा कामपाले राजधानीका पशु वधस्थललाई व्यवस्थित गर्न ५० लाख रुपियाँ बजेट छुट्टयाएको छ । तर, त्यसलाई कसरी वितरण गर्ने भन्ने विषयमा अहिलेसम्म छलफल हुन सकेको छैन । कामपाले उक्त रकम वितरण गर्ने मापदण्ड तयार गरिरहेको दाबी गरेको छ ।

हाल राजधानीका करिब ३ हजारको संख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको संख्यामा सानाठूला पशु वधस्थल छन् । राँगाका लागि २ सय ५० जति वधस्थल छन् । राजधानीको पशु ओसारपसारको अवस्था निकै दयनीय छ । पशु ओसारपसार गर्दा २० फिटको ट्रकमा २४ देखि २६ वटा चौपाया खाँदेर ल्याउने गरेको छ । १२ देखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट