खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले आगामी २०८० साल वैशाखभित्रै चालु आर्थिक वर्षका लागि विनियोजित सबै योजना कार्यान्वयन गरिसक्ने भएको छ । अहिले कतिपय योजना सम्पन्न भइसकेको र केही योजना कार्यान्वयन हुने क्रममा रहेकाले नगरपालिकाले ढिलोमा वैशाखभित्रमा सबै योजना कार्यान्वयन गरिसक्ने नगरपालिका प्रमुख महेश थपलियाले जानकारी दिनुभयो । नगरसभाले पास गरी चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने अधिकांश योजना सम्पन्न भइसकेका छन् केही योजना बाँकी छन ति योजना पनि वैशाख भित्रै सम्पन्न हुने गरी अहिले काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाले विकास निर्माण र सुशासन सँगसँगै अगाडि बढाइएको, नगरपालिकाले गत असारमा सम्पन्न नगर सभाबाट पारित गरेका वार्षिक नीति, कार्यक्रम र बजेट अहिले कायाृन्वयको अन्तिम चरणमा पुगेको र सुशासन कायम गर्ने विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
अहिले वडास्तरीय र नगरस्तरीय योजना कार्यान्वयन अन्तिम चरणमा पुगेको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि निर्देशन प्रदान गर्ने गरिएको, सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ हुने गरिएको, योजना कार्यान्वयको अनुगमन हुने गरिएको अनुगमनबाट प्राप्त गुनासाको सम्बोधन गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनुभयो ।