शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा आवश्यक: नेपाल 

73

भक्तपुर । नेकपा(एस)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा आवश्यक रहेको बताउनुभएको छ ।

भक्तपुरको महेश्वरीमा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलाडी छनोट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलकुद पनि मानवीय जीवनमा आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ’खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिनेछ ।’ खेलकुद मानवीय जीवनको अङ्ग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ ।

 

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले भक्तपुरमा खेलकुदको विकास तीव्र गतिमा भइरहेको बताउनुभएको थियो ।  थापाले भक्तपुरलाई सम्पदाको जिल्लाबाट मात्रै होइन उत्कृष्ट खेलाडी रहेका खेलकुदको जिल्ला भएकाले खेलकुदका गतिविधि व्यापक भइरहेको भन्नुभयो ।

उहाँले खेलकुदको विकासका लागि भक्तपुर नगरपालिका र खेलकुद विकास समितिको नाममा रहेको महेश्वरी खेल मैदानमा रङ्गशाला निर्माणर्को प्रक्रिया पनि अगाडी बढेको जानकारी दिनुभएको थियो ।

खेलाडी छनोट प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन हुने छ । ‘प्रतियोगिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ, आई टी।एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनौट गरिने छ,’ थापाले भन्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ लगायतका अतिथिको उपस्थिति रहेको थियो ।