उपनिर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा खटपट

80

काठमाडौं । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित भएको छ भने मन्त्रिपरिषद्को विषयमा पनि सत्तारूढ दलमा खटपट सुरु भएको छ ।

सत्तारूढ गठबन्धनभित्र रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) रहेका छन् ।

गठबन्धनमै रहेका र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका अन्य दल उपनिर्वाचनको विषयलाई लिएर असन्तुष्ट छन् । उनीहरूले छुट्टाछुट्टै रणनीति बनाउनुका साथै मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पाँच दलले मंगलबार संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड, कांगे्रस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त अपिलमा हस्ताक्षर गर्दै साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् ।

पाँच दलले जारी गरेको अपिलमा बारा–२ मा जसपाका उम्मेदवार उपेन्द्र यादव, चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्दै विजयी बनाउन पार्टीका नेता, कार्यकर्ता एवं सर्वसाधारणलगायत स्थानीय मतदातासँग आग्रह गरिएको छ । ‘गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टीपंक्ति एकीकृत रूपमा परिचालित हुन आवश्यक छ,’ साझा अपिलमा भनिएको छ, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था÷संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरिन्छ ।’

तर, सत्तारूढ गठबन्धनमै रहेका अन्य दलले सो निर्णयलाई अस्वीकार गरेका छन् । राजधानी दैनिकबाट