सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप मृत्यु हुनेको संख्या १७४ बढि

52

खार्तूम । सुडानी सेना र आरएसएफबीच सशस्त्र झडपमा १७४ भन्दा बढिको ज्यान गएको खुल्न आएको छ ।
सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको हो।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुयुद्धविरामको घोषणा गरिए पनि मङ्गलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । सुडानको राजधानी खार्तूमको मध्य भागमा रहेको सेनाको जनरल कमाण्ड नजिकै बुधबार पनि हिंसात्मक विष्फोट हुँदा झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुडानी सेनाले आरएसएफको नयाँ आक्रमणको प्रतिकार गरिरहेको बुधबार पुष्टि गरेको छ । सुडानी सेनाका प्रवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शत्रुले ठूलो जनधनको क्षति बेहोर्नुका साथै थुप्रै लडाकू सवारी साधन नष्ट भएको छ।

प्रत्यक्षदर्शीका अनुसार खार्तूम विमानस्थलमा इन्धन ट्याङ्की विस्फोट हुँदा ठूलो धुवाँको मुस्लोले ढाकेको थियो । खार्तूमको उत्तरमा रहेको कफौरी क्षेत्रमा रहेको आरएसएफ क्याम्पमा बुधबार बिहान पनि हिंसात्मक झडप भएको थियो ।

दुवै पक्षले मङ्गलबार अन्तर्राष्ट्रिय पक्षले प्रस्ताव गरेको २४ घण्टे मानवीय युद्धविरामका लागि प्रतिबद्धता जनाए पनि देशमा अझै पनि लडाइँ जारी छ ।

सुडानमा गत अप्रिल १५ देखि खार्तूम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ र दुवै पक्षले एकअर्कालाई द्वन्द्व सुरु गरेको आरोप लगाउँदै आएका छन् । दुई पक्षिय दोन्दका कारण सुडानको खार्तूम र अन्य क्षेत्रको जनजिवन कष्टकर भएको छ ।