‘लक्ष्मीले आफ्नो कलेजो काटेर श्रीमानलाई दिइन्’…..

73

किस्ट मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण

बलराम प्यासी
ललितपुर। प्रेम गर्नेहरुले आफ्नो प्रेमी प्रेमिकालाई ‘मुटु दिन्छु’ भन्छन । तर शंखरापुर नगरपालिका वडा नं ६ इपा टोल, साँखुकी ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले ५० वर्षे आफ्ना श्रीमान कृष्ण गोपाल प्रजापतिलाई मुटु त ३५ वर्षअघि नै दिइसकेकी थिइन, सोमबार त उनले आफ्नो कलेजो पनि आधा काटेर दिइन् ।
३५ वर्षअघि १५ वर्षको किशोरी अवस्थामा प्रेममा परेर कृष्ण गोपाललाई मुटु दिएकी लक्ष्मीले श्रीमान नै आफ्नो प्रेमी र सर्वस्व भएको भन्दै कलेजो पनि दिएकी हुन् । प्रजापति दम्पतिका छोराछोरी छैनन ।
लक्ष्मीको कलेजोको ५७ प्रतिशत भाग काटेर किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काे ललितपुरमा उनका श्रीमान कृष्ण गोपाललाई प्रत्यारोपण गरिएको हो ।
कलेजो विग्रेर पटक पटक वेहोस भई विभिन्न अस्पतालमा धाउँदै आइसियु कक्षमा पटक पटक उपचार गराईसकेका कृष्ण गोपालको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको कलेजो प्रत्यारोपण गर्नुअघि चिकित्सकले बताएका थिए । प्रत्यारोपणको लागि लक्ष्मी (दाता) र कृष्ण गोपाल (लिने) दुवैजना एक हप्ताअघि सो मडिकल कलेजमा भर्ना भएका थिए ।
कलेजो प्रत्यारोपण सफल भएपछि दुवैजना अहिले किस्ट मेडिकल कलेजको प्रत्यारोपण सघन कक्षमा चिकित्सकको सुक्ष्म निगरानीमा छन् भने दुबै जनाको होस आईसकेको अस्पतालले जनाएको छ ।
भारतको इन्द्रप्रस्थ एपोलो अस्पताल दिल्लीका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीको सहयोगमा किस्ट मेडिकल कलेजका वरिष्ठ प्रत्यारोपण विशेषज्ञ सहितको १५ जनाको टोलीले साँढे १५ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका थिए ।
हिजो सोमबार दिउँसो १२ बजेदेखि शुरु भएको कलेजो प्रत्यारोपण कार्य मंगलबार विहान ३ बजेर ३५ मिनेटमा सफलतापुर्वक सम्पन्न भएको किस्ट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताउनुभयोे ।
कलेजो प्रत्यारोपण गर्न अनुमति लिने किस्ट मेडिकल कलेज शिक्षण अस्पताल पहिलो नीजि मेडिकल हो भने प्रत्योरापण गर्ने दोस्रो मेडिकल कलेज भएको प्रमुख कार्यकारी अधिकृत पाठकले दावी गर्नुुभयो । सो मेडिकल कलेजले ७ महिना अघिमात्रै सरकारको मानव अंग प्रत्यारोपण समन्वय समितिबाट कलेजो प्रत्यारोपण गर्ने अनुमति पाएको थियो ।
मानव अंग प्रत्यारोपणको कार्य सहरकारको राष्ट्रिय प्राथमिकताप्राप्त कार्यक्रम भएकोले सरकारले सहयोग गरेमा आगामी दिनमा नेपालमै सहज र सरल रुपमा कलेजो प्रत्यारोपण गर्न निकै सहज हुने उहाँले बताउनुभयो ।
सो मेडिकल कलेजमा दुईवर्षको अवधिमा ७७ जनामा मिर्गाैलाको सफल प्रत्यारोपण गरिसकिएको छ भने कलेजो प्रत्यारोपण भने यो नै पहिलो हो ।
एपोलो अस्पताल दिल्लीका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ डा.निरव गोयलको नेतृत्वमा सो अस्पतालका वरिष्ठ प्रत्यरोपण विशेषज्ञहरु डा.अरुण कुमार भेनुथुरिमिल्ली, उचबmगपज एनेस्थेसियोलोजिष्ट डा.सन्जिव अनेजा सहितको टोलीमा किस्ट मेडिकल कलेजको कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो हेपाटो विलियरी सर्जरी विभागका प्रमुख प्रा.डा.मुकुन्दराज जोशीको टोली सहभागी थियो ।
सो टोलीमा प्रत्यारोपण विशेषज्ञ डा.एकानन्द सिंह, डा.बरुण श्रेष्ठ, ग्यास्ट्रो इन्ट्रोलोजी तथा जनरल सर्जरी विभागका प्रमुख प्रा.डा.रुपेश मुखिया, सोही विभागका सहप्राध्यापक डा. टंक बोहोरा, एनेस्थेसिया विभाग प्रमुख प्रा.डा.रामभक्त कोजु, सहप्राध्यापक डा. अनिल महर्जन र डा.स्मृति कोइराला संलग्न थिए ।
यसैगरि क्रिटिकल केयर विभागका प्रा.डा. तमन्ना बज्राचार्य, डा. विरेन्द्र राउत, डा.बालचन्द्र कार्की, ग्यास्ट्रो इन्ट्रोलोजी विभागका प्रा.डा. सिताराम चौधरी, डा. छिरिङ्ग वाङ्गदी र डा. आध्या कार्की थिए ।
प्रत्यारोपण अघि सो मेडिकल कलेजको कानुनी विभागका प्रा. डा. किशोर सिंह बस्नेत, प्रशासन प्रमुख अक्षय प्रसाद गौतम र अधिवक्ता कृष्णप्रसाद मरासिनीको टोलीले कलेजो प्रत्यरोपणको लागि सम्पूर्ण कानुनी प्रकृया पुरा गरेको थियो ।