आंशिक शिक्षकलाई सोझै स्थायी गर्नुपर्ने भन्दै समाजशास्त्र विभागीय प्रमुखमाथि आक्रमण (भिडियो सहित)

171

 समाजशास्त्र केन्द्रीय विभागका आंशिक शिक्षकबाट विभागीय प्रमुखमाथि आक्रमण

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय समाजशास्त्रका केन्द्रीय विभागीय प्रमुखमाथि आंशिक शिक्षकलाई  सोझै करार वा स्थायी गर्नुपर्ने भन्दै आक्रमण भएको छ ।

 त्रिभुवन विश्व विद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा ललित विष्ट नामका आंशिक शिक्षकबाट विभागीय प्रमुख सह–प्राध्यापक डा. युवराज लुइँटेलमाथि आक्रमण भएको हो ।

आंशिक शिक्षकलाई सोझै र सिधा बाटो बाट कुनै खुल्ला प्रतिस्पर्धा विना विभागीय प्रमुखले नै स्रोत व्यवस्थापन गरी करार गर्नु पर्ने भन्दै उनले आक्रमण गरेको देखिन्छ ।

आक्रामक रूपमा विभागीय प्रमुखको कार्यकक्षमा प्रवेश गरेको विष्टले मोटरसाइकलको हेलमेटले हानौला झैँ गरी सूचना पाटी भित्ताबाट उप्काएर भुईँमा बजार् दिएका थिए भने , पी.एच.डी.का शोधपत्रहरू टेबुलबाट सोहोरेर कार्पेटभरि लथालिङ्ग पारिदिएका थिए । उनले सूचना च्यातेर च्यातिएका कागजका टुक्रासमेत ससाना हतियारको रूपमा प्रयोग गरेर लज्जास्पद ढङ्गबाट आक्रमणको प्रयास गरिएको सिसिटिभी फुटेजमा स्पष्ट देखिन्छ । आक्रमण हुँदा विभागमा अध्यापनरत डा. प्रमोद भट्ट र डा. गुमानसिंह खत्रीलगायत शिक्षकहरू, विद्यार्थीहरू एवं कर्मचारीहरू समेत आइपुगेकोले विभागीय प्रमुखको ज्यान जोगिएको थियो ।

लामो समय देखि आक्रमणको प्रयास गरेका उनको आक्रमणको कारण भने आंशिक शिक्षकलाई सोझै करार वा स्थायी गर्नुपर्ने माग रहेको खुल्न आएको छ । त्रि.वि. को नियमले विभागीय प्रमुखलाई करार गर्ने अधिकार दिएको छैन, तर आक्रमणकारीले विभागीय प्रमुखले नै विभागबाट पैसा व्यवस्थापन गरेर करार गर्नुपर्ने माग गरेका थिए ।

समाजशास्त्र विभागमा रहेको स्थायी शिक्षकले समयमा नै अध्यापन गराउने हो भने अन्य शिक्षक हायर नै गर्नु पर्ने बाध्यता छैन ।  विभागमा रहेका सबै स्थायी शिक्षकले आफ्नो पुरा कार्यभार वहन गर्ने हो भने आंशिक शिक्षक एक जना पनि नचाहिने समाजशास्त्र विभागले नै जानकारी दिएको छ । समाजशास्त्र विभागमा भर्ना भएका विद्यार्थीको सङ्ख्या साठी छ भने कक्षामा मुस्किलले २५ जना विद्यार्थीहरू पनि पढ्न आउने गरेका छैनन् ।  २५ जनाविद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने र स्थायी शिक्षकले मात्र अध्यापन गर्ने हो भने भएका स्थायी शिक्षक नै केन्द्रीय विभागलाई बढी हुन्छन् ।

विभागीय प्रमुखलाई किन यसरी आफैलाई आक्रमण गर्ने आंशिक शिक्षकलाई कक्षा दिनुभएको हो त, भनेर सोध्दा त्यो आफू भन्दा पहिलाको विभागीय प्रमुखले राखेको र आफुले निकाल्दा अनावश्यक राजनीतिको सिकार हुनुपर्ने एवं भौतिक आक्रमणमा पर्ने डरले निकाल्न नसकेको भन्नुहुन्छ । विभागमा उपलब्ध शिक्षक, कर्मचारी र विद्यार्थीलाई सोध्दा ललित विष्टले यो भन्दा अगाडि पनि आफैले र अरू गुन्डा पठाएर पछिल्लो २ वर्षदेखि दैनिक जसो यस्ता घटनाहरू घटाइरहेको बताए । ललित विष्टले गरेको आक्रमणको सी.सी.टी.भी. फुटेज यस्तो रहेको छ ।

२०८० वैशाख १३ गते दिउसो २ बजे उहाँमाथि आक्रमण भएको हो ।