निजामती अस्पतालद्वारा राज्यकोषको करोडौं बर्बादी, अख्तियारले माग्यो १० करोड बढीको उपकरण खरिदका फाइल

13

सेटिङमा उपकरण ल्याएर थन्क्याइयो
–सक्कली भन्दै नक्कली सामान खरिद
–बढ्दो अनियमितताका कारण सेवाप्रवाहमा ह्रास

काठमाडौं । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

निजामती अस्पतालले १० करोड बढी मूल्यका विभिन्न उपकरणहरू किनेर लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखेपछि अख्तियारले अस्पताल प्रशासनसँग उपकरण खरिदका सबै फाइल र निर्णयहरू मागेको छ । अख्तियार स्रोतका अनुसार अस्पताल प्रशासनसँग खरिदसम्बन्धी सम्पूर्ण कागजात, फाइल र निर्णयहरू माग गरिएको हो ।

अस्पतालले कागजात दिन आलटाल गरिरहेको बताइएको छ । अस्पतालले कागजात दिन आलटाल गरे अख्तियारले छापा मारेर पनि कागजात नियन्त्रणमा लिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

निजामती कर्मचारी अस्पताल विकास समितिका अध्यक्ष सरकारका मुख्य सचिव रहने व्यवस्था छ भने सदस्यहरूमा संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, कानुन न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सचिवहरू रहने व्यवस्था छ । सरकारका उच्च अधिकारीहरू सम्मिलित बोर्डमार्फत सञ्चालन भएको अस्पतालको खरिद प्रक्रिया नै अपारदर्शी रहनुलाई आश्चर्यका रूपमा हेरिएको छ ।

अख्तियारले अस्पतालको खरिद प्रक्रियाका बारेमा विभिन्न कोणबाट विश्लेषण थालेको छ । अख्तियारको प्रारम्भिक अनुसन्धानका क्रममा अस्पतालले विभिन्न उपकरण खरिद गर्दा सेटिङका आधारमा गरेको पाइएको जनाइएको छ । ‘सक्कली सामान भन्दै सेटिङमा नक्कली सामानहरू ल्याइएको छ, राज्यकोषको करोडौं रुपियाँ त्यसै खेर गएको पाइएको छ ।’ अख्तियार स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

महत्वपूर्ण उपकरणहरू किनेर त्यसै प्रयोगविहीन बनाएर राख्दा अस्पतालको सेवा सुविधामा समेत ह्रास आएको पाइएपछि अख्तियार झनै गम्भीर बनेको छ ।

अस्पतालले नक्कली सामान किन्ने र थन्क्याउने प्रवृत्तिका कारण सर्वसाधारण नागरिक अस्पतालमा सुलभ मूल्यमा विभिन्न स्वास्थ्य परीक्षण गर्न पाउने सुविधाबाट वञ्चित हुँदै आएका छन् । हाल अस्पतालमा कतिपय महत्वपूर्ण परीक्षण बाहिर गर्नुपर्ने वाध्यता छ । जसका कारण कर्मचारीहरू तथा सर्वसाधारण महँगो शुल्क तिर्न विवश छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि निजामती अस्पतालमा उपकरण खरिद प्रक्रियामा अनियमितता भएको विषयलाई उच्च नोटिसमा राखेको बताइएको छ ।

महालेखा परीक्षकको ६० औंपचारिक प्रतिवेदनमा निजामती अस्पतालले १० करोडभन्दा बढीका उपकरणहरू किनेर प्रयोगविहीन अवस्थामा राखेको भन्दै प्रश्न उठाएको थियो ।

महालेखाले अस्पतालले आवश्यकताको पहिचान नै नगरी मेसिन खरिद गरेको जनाएको छ ।

अस्पतालले ६ करोड ४२ लाख ९७ हजारमा खरिद गरेको स्पाइनल इन्डोस्कोपी सिस्टमयुक्त मेसिन उपकरण प्रयोगविहीन अवस्थामा राख्दै आइरहेको छ ।

यस्तै, १ करोड ९९ लाख ४५ हजारमा खरिद गरिएको रिलेटिभ डोजीमेट्री एन्ड एचटी भिडियो ब्रोङस्कोप सिस्टम र ९ लाख ८३ हजारमा खरिद गरेको इन्फ्युजन पम्पलगायत ६ वटा मेसिन उपकरणहरू प्रयोगविहीन अवस्थामा रहँदै आएको छ । यसै गरी अस्पतालले ३३ लाखमा खरिद गरेको नेभिगेसन सिस्टम फर टटल नी रिप्लेसमेन्ट सर्जरी मेसिन, १९ लाख १० हजारमा खरिद गरेको हेमोडाइलासिस मेसिन विथ रो प्लान्ट,१ करोड ८३ लाख ६ हजारमा खरिद गरेको तीन भेन्टिलेटर पेड, तथा स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको करोडाैं मूल्यका दुई भेन्टिलेटर पेडलगायतका उपकरण पनि प्रयोगविहीन अवस्थामा राख्दै आएको पाइएको हो । समाचारपत्रकाे सहयाेगमा