४० लाख डोज सिनोभ्याक खोपको म्याद सकिन आठ महिना बाँकी

21

कुनै पनि देशले चासो नदेखाएकाले कहाँ पठाउने भन्ने अझै टुंगो लागेन

काठमाडाैं । चीनले अनुदानमा दिएको ४० लाख डोज भ्याक्सिनको म्याद सकिन आठ महिना मात्रै बाँकी रहे पनि अझैसम्म कहाँ पठाउने भन्ने टुंगो लागेको छैन । बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने र प्राथमिक डोज लगाउने नागरिक नभएकाले अन्य देशलाई पठाउन वा चीन नै फिर्ता गर्न गत कात्तिकमै सल्लाहकार समितिले निर्णय गरे पनि हालसम्म खोपको टुंगो नलागेको हो ।

बुस्टरका रूपमा एकभन्दा बढी भाइरसको स्ट्रेनसँग जुध्न सक्ने बाइभेलेन्ट खोप प्रयोगमा आइसकेकाले सिनोभ्याक बुस्टरका रूपमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिको निर्देशनसँगै खोप स्टोरमा थन्किएको हो । ‘त्यो समयमा फाइजर, मोडर्ना, एस्ट्रेजेनेकाजस्ता खोप प्रशस्तै भएको र रोजाइमा समेत परेकाले सिनोभ्याक प्रयोगमा आएन । त्यतिवेला सिनोभ्याकको म्याद पनि अन्यको तुलनामा बढी भएकाले स्टोरमा राखिएको थियो,’ स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले भने ।

तर, धेरैजसो देशहरूले कोभिडको पहिलो र दोस्रो डोज लगाइसकेकाले खोप लिन नमानेको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार मन्त्रालयले विभिन्न देशलाई खोप दिन पत्र पठाए पनि इच्छा नदेखाएकाले अहिलेसम्म कहाँ पठाउने भन्ने टुंगो नलागेको हो ।

निष्क्रिय भाइरसबाट बनाइएको यो खोप पहिलो र दोस्रो मात्राका लागि भने प्रभावकारी देखिएको थियो । यो खोप अस्पतालमा भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको थियो । १२ चैत ०७८ मा ३५ लाख र १४ चैतमा पाँच लाख ४० लाख खोप भित्रिएको थियो ।

हालसम्म नेपालमा ८२ प्रतिशतभन्दा बढीले पहिलो र ८३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यसअघि अनुदान, खरिद र कोभ्याक्स परियोजनाबाट ल्याइएका सिनोभ्याकबाहेक सबै खोप प्रयोगमा आएका हुन् । हाल बुस्टरका रूपमा भने एकभन्दा बढी स्ट्रेन अर्थात् भेरियन्टविरुद्ध लड्न सक्ने बाइभेलेन्ट खोप प्रयोगमा आइरहेका छन् ।

व्यवस्थापन महाशाखाको तथ्यांकअनुसार प्रदेश केन्द्रमा गरी हाल आठ लाख ९५ हजार डोज खोप मौज्दात छ । साथै, नियमित खोप ल्याएर जिल्लामा पठाइरहेकोसमेत विभागले जनाएको छ । बुधबार मात्रै ८८ हजार ६ सय ४३ डोज खोप बुस्टरका रूपमा प्रयोगमा आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नयाँ पत्रिकाबाट