७७ वटै जिल्लाका विद्यार्थीका हातमा किताब पुग्यो : शिक्षा मन्त्रालय

32

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो ।

वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरिसकेका मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताएका छन् ।

यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६–१० का लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाबाट कक्षा १–५ का लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ गरी ७७ वटै जिल्लाका सूचीकृत १ हजार २ सय ६७ स्थानीय विक्रेतामार्फत बिक्रीवितरण भइरहेको उनले बताएका छन् ।

उनले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले दुई दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिए । उनले ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान जारी रहेको पनि बताएका छन् ।