मेसेन्जरमा कसैको मेसेज हेर्न चाहनुहुन्न अनि ब्लक पनि गर्न सक्नुहुन्न ? यसो गर्नुहोस्

12

काठमाडौं । फेसबुक मेसेन्जर प्रयोग गर्दा हामीले थुप्रै मानिसहरूसँग कुरा गरेका हुन्छौं । साथै हामीलाई पनि थुप्रै मेसेज आएका हुन्छन् ।

मेसेन्जरमा केही अवस्थामा यस्ता मान्छे जोडिन्छन् जसलाई न ब्लक गर्न सकिन्छ न त उनीहरूको मेसेज हेर्न नै । यस्तो परिस्थितिमा तपाईँले मेसेन्जरको ‘रेस्ट्रिक्ट’ फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

रेस्ट्रिक्ट एउटा यस्तो फिचर हो जसले अन्य व्यक्तिले तपाईँलाई मेसेज त पठाउन सक्छन् तर तपाईँलाई पठाइएको मेसेज डेलिभर भयो या भएन भनेर उनीहरूले जानकारी पाउन सक्दैनन् ।

साथै तपाईँ अनलाइनमा हुनुहुन्छ वा हुनुहुन्न भन्ने जानकारी पनि पाउँदैनन् । तपाईँले रेस्ट्रिक्ट गरेको व्यक्तिबाट आएका मेसेज मेसेन्जरको मेसेज लिस्टमा पनि देखिँदैन ।

यस्तो मेसेज सोझै ‘मेसेज रिक्वेस्ट’ फोल्डरमा गएर बस्छ । त्यहाँबाट तपाईँले उसलाई थाहै नदिई मेसेज डिलिट गर्न वा एप्रुभ गर्न भने सक्नुहुन्छ ।

एप्रुभ गरेको खण्डमा तपाईँले उक्त व्यक्तिको अकाउन्टलाई रेस्ट्रिक्टबाट हटाउनु भयो भन्ने बुझिन्छ । रेस्ट्रिक्ट गर्नुको फाइदा यतिमा मात्र सीमित छैन ।

यसले तपाईँको गोपनीयता पनि सुरक्षित राख्न मद्दत गर्छ । तपाईँ कुनै पनि व्यक्तिले आफूलाई अनलाइनमा भएको थाहा नपाओस् भन्ने चाहनुहुन्छ भने सोझै रेस्ट्रिक्ट गर्न सक्नुहुन्छ ।

साथै कुनै व्यक्तिले तपाईँलाई अनलाइनमा देख्ने बित्तिकै मेसेज पठाएर दिक्दार बनाएको छ भने यस्तोमा उक्त व्यक्तिलाई रेस्ट्रिक्ट गर्न सक्नुहुन्छ ।

आफूलाई अस्वाभाविक वा असम्बन्धित व्यक्तिले मेसेज पठाइरहेको छ तर त्यस्ता व्यक्तिलाई सोझै इग्नोर गर्न सक्नु भएको छैन भने यस्तो अवस्थामा रेस्ट्रिक्ट मेसेज फिचर प्रयोग गर्न सकिन्छ ।

आफूले प्रयोग गर्ने मेसेन्जर आफू अनुकूल कस्टमाइज गर्न सकिने भएकाले फेसबुकले यस्तो फिचर उपलब्ध गराएको हो ।

तर, यता ब्लक गर्दा उक्त व्यक्तिले तपाईँलाई मेसेज पठाउन सक्दैन । त्यसैले मेजेट पठाइरहोस् तर आफूले उक्त मेसेज देख्न नपरोस् भन्ने चाहनु भयो भने रेस्ट्रिक्ट गर्न सक्नुहुन्छ ।

कुनै पनि व्यक्तिलाई मेसेन्जरबाट यसरी रेस्ट्रिक्ट गर्नुहोस्:

– सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् ।

– त्यसपछि च्याटलिस्टमा आफूले रेस्ट्रिक्ट गर्न चाहेको व्यक्तिको मेसेज खोल्नुहोस् ।

– यति गरेपछि माथि दायाँपट्टि भएको आई आईकन (गोलो घेराभित्र ‘i’ लेखेको) मा ट्याप गर्नुहोस् ।

– अनि स्क्रोल गर्दै तल जानुहोस् र, रेस्ट्रिक्टको अप्सनमा ट्याप गर्नुहोस् ।

यति गर्नुभयो भने तपाईँ उक्त व्यक्तिलाई रेस्ट्रिक्ट गर्न सक्नुहुन्छ । यही प्रक्रिया पुनः दोहोर्याएको खण्डमा रेस्ट्रिक्टबाट हटाउन सक्नुहुन्छ । साथै मेसेन्जरको रेस्ट्रिक्ट अप्सनमा गएर पनि रेस्ट्रिक्टबाट हटाउन सकिन्छ ।टेकपानाबाट