कीर्तिपुरमा नगरपालिकाको कार्य सञ्चालन निर्देशिका अनुसार खेलकुद कार्यक्रम सञ्चालन हुने

28

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले नगरपालिकाको कार्य सञ्चालन निर्देशिका अनुसार खेलकुदा कार्यक्रमको खर्च गर्ने भएको छ । खेलकुद कार्यक्रमलाई थप पारदर्शि र मितव्यी बनाउने उद्देश्यले नगरपालिकाले सोही निर्देशिका अनुसार खेलकुद कार्यक्रम सञ्चालन गर्ने भएको हो । कीर्तिपुर नगरपालिकाको नगर प्रमुख राजकुमार नकर्मीको अध्यक्षतामा १७ औँ नगर कार्यपालिकाको बैठक बसी उक्त निर्णय गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
बैठकले मेयर खेलकुद विकास कार्यक्रम र जिल्ला स्तरीय उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डका कीर्तिपुर नगरपालिकाको कार्यसञ्चालन निर्देशिका २०७९ मा उल्लेख भए अनुसार गर्ने निर्णय भएको हो ।
त्यस्तै खर्च शीर्षकको हकमा सोही बमोजिम र उल्लेख नभएका खर्च शिर्षकको हकममा नगर प्रमुखस्तरीय निर्णय बमोजिम हुने गरी खर्च अनुमान गर्ने निर्णय भएको छ ।
कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷ ८१ का लागि शाखा र वडा कार्यालयहरुलाई बजेट सीमा (मार्गदर्शन) उपलब्ध गराई तोकिएको समय सीमा भित्र बजेट निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले यस अगाडि नगर कार्यपालिकाको बैठकबाट भएको निर्णयको कार्यान्वयनको विषयमा छलफल तथा समिक्षा गरेको नगरपालिकाले जनाएको छ ।