‘हामी विद्यालय सुधार्छौं’ चाँगुनारायणका प्रधानाध्यापकहरु

69

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि सामूहिक प्रतिवद्धता जनाएका छन् ।

आफूहरुले विद्यालय सुधार योजना(एसआइपी) निर्माण सम्बन्धी सीप पाइसकेपछि सामूहिक रुपमा विद्यालय सुधारका लागि प्रतिवद्धता जनाएका हुन् ।

प्रशिक्षार्थी बनेका प्रधानाध्यापकहरुले विद्यालयमा आफूहरुले गरिरहेको अभ्यासको अनुभव सुनाएका थिए । सो क्रममा उनीहरुले शिक्षक पेशागत विकास सम्बन्धी आधारभूत सिद्धान्तसम्बन्धी ज्ञान लिएका तालिममा सहभागी प्रधानाध्यापकहरु इन्द्र फोँजू, सोम श्रेष्ठ, राजु श्रेष्ठ, इन्जकुमार बास्तोला, राजाराम छुकांलगायतले बताए ।

उनीहरुले तालिममा सामूहिक रुपमा ‘सिकाइमा विद्यार्थीको सहभागिता बढाउने पक्ष र विद्यालयको केन्द्रबिन्दूमा रहेका हाम्रा बालबालिकाहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि योजनावद्ध रुपमा आआफ्नो ठाउँबाट हरेक समयमा सही क्रियाकलापमार्फत् शैक्षिक पक्षको रुपान्तरणका लागि प्रतिवद्ध छौं’, वचनका साथ प्रतिवद्धता जनाएका थिए ।

तालिममा सहभागीहरुमध्ये चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीको सौडोलस्थित देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले विद्यालय सुधारका लागि सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबै पक्ष एकजुुट भएर लाग्नुपर्ने बताए । उनले भने, ‘हाम्रो नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन्, यसमा सबै विद्यालयका आआफ्नै समस्याहरु छन्, यी समस्या भनेको हाम्रो समस्या हो, कुनै पनि विद्यालयको शैक्षिक स्तर खस्क्यो भने, दुःख हामीलाई पर्छ, चाँगुनारायणलाई पर्छ, यसैले हामी चाहन्छौं, ३४ वटै स्कुलको शैक्षिक स्तर उकास्नका लागि शैक्षिक चुनौति केलाउँदै समाधानतर्फ लाग्यौं भने अवश्य पनि शिक्षामा सुधार हुन्छ ।’

 उनले तालिममा सिकेका सिपको कार्यान्वयनका क्रममा आउने अफ्ठ्यारोलाई समाधान गर्नका लागि प्रअहरुबीच अनुभव आदान प्रदान गर्ने समेत जनाए । तालिमको क्रममा विभिन्न विषय र क्षेत्रबारे जानकारी पाएको जानकारी दिँदै ताथलीको गणेश माविका प्रधानाध्यापक इन्जकुमार बास्तोलाले भने, ‘हामीले यो पाँच दिन जुन खर्च गरेका छौं, त्यो समय निक्कै महत्वपूर्ण समय हो, यो खर्च गरेको समयमा सिकेका कुरालाई विद्यालयमा गएर हामी पक्कै पनि लिपिवद्ध रुपमा कार्यान्वयन गर्छौं ।’

उनीहरुले समूह कार्यमार्फत् विद्यालय सुधारका तरिकाहरुबारे निश्कर्ष निकाल्दै ती तरिकाहरुलाई अवलम्बन गर्ने समेत उल्लेख गरे । उनीहरुले तालिमको क्रममा आआफ्नो विद्यालयको सुधार योजना प्रस्तुत गर्दै त्यसमा आवश्यक पृष्ठपोषण समेत लिएका थिए । सो योजना कार्यान्वयन गर्दा आउन सक्ने सम्भावित अवरोधहरुलाई हटाउने सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका अधिकृत ध्रुबप्रसाद कोइराला र शिक्षा तालिम केन्द्र धुलिखेलका अधिृकत श्रीकृष्ण आचार्य र चाँगुनारायण नगर शिक्षा शाखाका अधिकृत रञ्जना सापकोटाले उपायहरु समेत सुनाएका थिए ।

तालिमको समापनमा नगर शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले जापान भ्रमणको क्रममा त्यहाँको शिक्षाको स्थितिबारे बुझ्ने अवसर मिलेको बताउँदै विद्यार्थी केन्द्रीत सिकाइ गर्न सबैलाई अनुरोध गरे । उनले शिक्षाको स्तर माथि उकास्नका लागि प्रधानाध्यापकहरुले वस्तुनिष्ठ योजना निर्माण गर्न समेत अनुरोध गरे ।

नगरपालिकामा विगत तीन वर्षदेखि गणित विषयमा विद्यार्थीहरुको सिकाइ क्षमता सुदृढ बनाउनका लागि ‘आधारभूत शिक्षाको गुणस्तर सुधार परियोजना’ (आइमिन) सञ्चालनमा रहेको छ । जापानी शिक्षा प्रविधिलाई नेपाली भूगोल र परिवेश सुहाउँदो बनाउनका लागि नगरपालिकाले आइमिन परियोजना सञ्चालन गरिरहेको हो ।

तालिमका लागि सहयोग गरेको आइमिन परियोजना (जापान) का टीम संयोजक केन्जी ओहाराले विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी बनाउन र शिक्षकमा रहेको क्षमता र दक्षता अभिवृद्धिका लागि तालिम दिइएको बताए । उनले विद्यालयको नेतृत्वमा रहेका प्रधानाध्यापकहरुलाई तालिम दिँदा तालिमको सीप विद्यार्थीसम्म पुग्ने भएकाले प्रधानाध्यापकलाई तालिममा सहभागी गराइएको बताए ।

विद्यालय सुधार योजनाको आवश्यकता बोध गराउन र व्यवहारमै उतार्न लगाउन शिक्षक तथा प्रधानाध्यापकहरुलाई सहयोग गर्नका लागि तालिम आयोजना गरिएको आइमिन परियोजनाका भक्तपुर संयोजक लक्ष्मी पाण्डेले बताइन् । यसभन्दा अघि पनि दिइएको सो तालिमको फलो अपको रुपमा दिइएको सो तालिम पाँच दिनसम्म चलेको आइमिन परियोजनाको भक्तपुर संयोजक पाण्डेले बताइन् ।

तालिममा चाँगुनारायण नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
तालिमको क्रममा सहजकर्ताहरुले विद्यार्थी, शिक्षक र अभिभावक लक्षित कार्यक्रमहरुबारे सहजीकरण गरेका थिए ।

तालिममा उनीहरुलाई पाठलाई सिकाइकेन्द्रीत बनाउने तरिका, पाठ अध्ययनको परिचयका साथै अन्तर्राष्ट्रिय अभ्यास, पाठ योजनाले पुर्याउने फाइदा र सीपबारे जानकारी दिएका थिए ।भक्तपुरटाइम्सबाट