बागमती प्रदेश वन तथा वातावरण मन्त्रीमा मसिना खड्का

113

भक्तपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । आइतबार भएको मन्त्रिमण्डल विस्तारमा मसिना खड्का वन तथा वातावरण मन्त्री हुनुभएको हो ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित हुनुभएकी खड्का विस्तारित मन्त्रिपरिषदमा वन तथा वातावरण मन्त्री हुनुभएको हो ।
उहाँ सँगै बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरु पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।
कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका हुन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बन्नुभएको छ भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्नुभएको छ ।
बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि १३ फागुनमा राप्रपा र १० चैतमा नेकपा एमालेले सरकार छाडेको थियो
त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । आइतबार मन्त्री नियुक्त गरेपछि बागमतीको मन्त्रिपरिषद १२ सदस्यीय भएको छ । तर हालसम्म बागमतीको मन्त्रिपरिषद ११ सदस्यीय छ ।