मोरङको बेलवारीमा भयानक बस दुर्घटना, १ को मृत्यु, १२ यात्रु गम्भीर घाईते

999

विराटनगर, बैशाख ३० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलवारी सडकखण्डमा शनिबार बिहान बस र टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना यात्रु गम्भीर घाइते भएका छन् । बेतना-सिमसार सडकखण्डको बेलवारी ४ मा ना ५ ख ८५०१ नम्बरको बसले बा २ ख ७१८५ नम्बरको टिप्परलाई पछाडिबाट ठक्कर दिएको थियो ।

तीव्र गतिमा रहेको बसले टिप्परलाई ठक्कर दिएपछि बसमा सवार करिव ५० वर्ष उमेरका जस्ता देखिने पुरुषको घटनास्थलमै मुत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । उनको नाम बतन खुल्न सकेकोे छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका १२ जना यात्रुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्य सामान्य घाइतेको बेलवारीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।