घरेलु मदिरालाई ब्राण्डीङ गर्नुपर्ने : श्रेष्ठ 

365

मकवानपुर । घरेलु मदिरालाई ब्राण्डीङ गर्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारले आगामी बजेटमा घरेलु मदिरालाई ब्राण्डीङ गर्ने नीति ल्याउनु पर्ने बताउनुभएको हो ।

उहाँले नेपालको घरेलु मदिरा विश्वको नै ५० औँ राम्रो पेय पर्दार्थमा पर्ने बताउँदै घरेलु मदिरालाई ब्राण्डीङ गरी उत्पादन गरी विश्व बजारमा विक्री वितरणका  लागि सम्भाव्यता अध्ययन तथा वडा वडामा कारखाना स्थापनालाई प्राथमिकताका साथ काम गरिनु पर्ने बताउनुभयो ।  घरेलु मदिरालाई मापदण्ड बनाएर कानुनी दायरामा ल्याउन समिति गठन गर्नुपर्ने बताउँदै उहाँले आगामी बजेटमा समावेश गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश आफैमा खुट्टा टेक्ने आधार भनेको कुल गार्हस्थ्य उत्पादन हो । कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा ओगटेको घरेलु तथा साना उद्योगलाई भने नीति तथा कार्यक्रमले समग्रमा समेट्न नसकेको उहाँले बताउनुभएको थियो ।

उहाँले प्रदेशमा परम्परा देखि सञ्चालित उद्योगबाट उत्पादित बस्तु तथा सेवाहरूलाई सूचीकृत गरी ब्राण्डीङको व्यवस्था गर्नुपर्ने घरेलु तथा साना उद्योगलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकसँग जोड्न गो लोकल (रैथाने तर्फ) कार्यक्रम सञ्चालनमा जोड दिनु पर्ने बताउनुभएको हो ।

परम्परागत घरेलु उद्योगलाई निःशुल्क रूपमा दर्ता गर्ने व्यवस्था गर्नुपर्ने तथा उक्त परम्परागत घरेलु उत्पादनलाई कसरी पर्यटन सँग सिधै जोड्न सकिन्छ भनी त्यता तर्फ लगानी गर्नु पर्ने बताउनुभएको हो ।

यस्तै महिलाद्वारा सञ्चालित उद्योग व्यवसायको दर्ता तथा नवीकरणमा सहुलियतको व्यवस्था गर्दै महिला आत्मनिर्भरका विभिन्न कार्यक्रम लागु गरिनु नै समृद्ध प्रदेश निर्माण भएको उहाँले बताउनुभएको हो ।

यस्तै उहाँले सदनमा रासायनिक मलको वितरण प्रणालीमा नै गोलमाल रहेको छ मल वितरण परम्परागत खेती प्रणालीको अनुसार भई रहेको छ जसलाई सुधार गरी आधुनिक एवं नगदे वाली लगाउने क्षेत्रका आधारमा रासायनिक मल वितरण गर्न प्रदेशले सहजीकरण गर्नु पर्ने बताउनुभएको हो  ।

यस्तै भक्तपुरमा सम्भावित धार्मिक पर्यटन, उपत्यकाका स्थानीय जात्रा परम्परा तथा रीतिरिवाजलाई विश्व समुदाय बिच प्रचार प्रसार गरी पर्यटन प्रवर्धनका लागि आवश्यक कदम चाल्नु पर्ने जसका कारण प्रदेशको आम्दानी बढ्ने उहाँले बताउनुभयो ।

उहाँले भक्तपुर जिल्ला भरका स्थानीय निकायले जस्तै बागमती प्रदेश भित्रका १३ जिल्लामा नै ब्लड बैङ्कको व्यवस्थापन तथा निःशुल्क रगत उपलब्ध गराउन प्रदेशले आगामी बजेटमा व्यवस्था गर्नु पर्ने माग गर्नुभएको छ ।

यस्तै क्यान्सर, एचआइभी , टिभी लगायत, दिर्ग रोगी र उनीहरूका परिवारको जीवन स्तर उकास्ने खालका कार्यक्रम प्रदेशले लागु गर्नु पर्ने समेत उहाँले बताउनुभएको छ ।