भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि प्रतिनिधिसभा सम्म एक्लै निर्वाचनमा होमिने बताउनुभएको छ ।
नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन विना नै एक्लै चुनावमा होमिने बताउनुभएको हो ।
पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताउँदै आगामी निर्वाचनमा वडा देखी केन्द्रसम्म एक्लै निर्वाचन लड्ने तयारी अहिले देखी गर्नुपर्ने सुझाव दिनुभयो । “पार्टी सञ्चालन गर्दा कतै विधि विधान अनुसार नचलेको हुन सक्छ, कतै मिचिएको हुन सक्छ । यसले पार्टी कमजोर बनाउँछ । पार्टीलाई विधि सम्मत चलाएर आगामी निर्वाचनमा वडा देखी केन्द्रसम्म एक्लै निर्वाचन लड्ने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
कोइरालाले काँग्रेसमा गुट उपगुट छैन भन्ने परिस्थिति नभएको बताउँदै गुट उपगुटले पार्टीलाई समाप्त पार्ने भएकाले त्यस्ता गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले पार्टी कहिल्यै कमजोर नभएको जिकिर गर्दै काँग्रेस नेता कार्यकर्ताको मानसिकता कमजोर भएको बताउनुभयो । “अग्रजले भनेका कुरा बिर्सिने कमजोरी गर्यौँ । कतै बाटो बिराएको होला । तर काँग्रेस कमजोर भएको छैन । काँग्रेस कमजोर भयो भन्ने मानसिकता कमजोर हो,” उहाँले भन्नुभयो ।
उहाँले मिश्रित निर्वाचन प्रणालीले लोकतन्त्र र काँग्रेस दुवैलाई कमजोर पार्ने भएकाले निर्वाचन प्रणाली सुधारका लागि काँग्रेसले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले पार्टीलाई जनतासँग जोड्नुपर्नेमा जोड दिँदै जनतासँग कसरी घुलमिल हुन्छ त्यसरी काँग्रेस अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जनतासँग जोड्न सकिएन पार्टी नै समाप्त भएर जान सक्ने चेतावनी समेत दिनुभयो ।