८४ को निर्वाचनमा एक्लै लड्ने बेमौसमी बाजा नबजाऊँ सहमहामन्त्री पाण्डे

59

भक्तपुर । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालको निर्वाचनमा एक्लै लड्नु पर्छ भनेर अहिले नै बेमौसमी बाजा बजाउन नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बेमौसमी बाजा बजाउँदै आगामी निर्वाचनमा एक्लै लड्ने भन्दै हिडन नहुने बताउनुभएको हो ।

 उहाँले काँग्रेसलाई विधि विधान अनुसार सञ्चालन गरी युवा पुस्तालाई आकर्षित गर्दै बलियो सङ्गठन बनाउन सके आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने परिस्थिति आफैँ निर्माण हुने बताउनुभयो ।

यस्तै कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू मदनकृष्ण श्रेष्ठ, रमा पौडेल कोइराला, गंगा अवाल र डा। चन्द्र मोहन यादवले काँग्रेस भित्रका आन्तरिक मनमुटाब हटाएर एकताबद्ध भएर अघि बढे काँग्रेस कहिल्यै कमजोर नहुनेमा जोड दिनुभयो । उहाँहरूले नागरिकता विधेयक, रेसम चौधरीको आममाफी र बजेटमा आलु प्याजमा समेत भ्याट लगाएको विषयमा काँग्रेसका कार्यकर्ता स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेश र सङ्घीय संसद्मा समानुपातिक प्रणाली हटाउनुपर्ने, राष्ट्रिय सभालाई समावेशी र समानुपातिक बनाउनुपर्ने, स्थानीय तहका जनप्रतिनिधिहरूको पनि सङ्ख्या घटाएर खर्च कटौती गर्नुपर्ने धारणा राख्नुभयो ।