काँग्रेस कमजोर बनाउन सामाजिक सञ्जालमा फेक आइडी व्याप्त सुरेश श्रेष्ठ 

91

भक्तपुर ।  बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नेपाली काँग्रेस कमजोर बनाउन सामाजिक सञ्जालमा फेक आइडी व्याप्त रूपमा लागी परेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हाल काँग्रेस कमजोर बनाउन अराजक तत्त्व फेक आइडी बनाई सामाजिक सञ्जालमा लागी परेको बताउनुभएको हो ।

बजारमा विभिन्न फेक आइडी खोल्ने फलानो यता गयो तिलानो उता गयो फलानोले फलानोलाई गाली गलौच गर्‍यो भनी विभिन्न भ्रम फैलाउनेहरूको लर्को रहेको छ जसको पछाडि हाम्रा सोझा साझा जनता देखि बुद्धिजीवी पनि पछि लागेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी लोकतन्त्र समाप्त पार्न एक तत्त्व नै लागी परेको छ जसलाई चिर्नु हाम्रो दायित्व हो । उहाँले भन्नुभयो ।

काँग्रेस कमजोर भयो भनी चिया पसलमा हल्ला गर्नले नै काँग्रेस कमजोर भएको हो । काँग्रेस कमजोर भयो भने मात्र लोकतन्त्र कमजोर हुन्छ भनी एक तत्त्व लागि परेको छ जसको लहैलहैमा हामी पछाडि दौडेका छौ जुन घातक हो । उहाँले भन्नुभयो ।

 

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस प्रदेश सभा समिति भक्तपुर १ (क)का सभापति जयन्द्र खड्काले गएको स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको परिणामले भक्तपुरमा काँग्रेस कमजोर नभएको स्पष्ट पारेको चर्चा गर्दै जिल्ला सभापति थापालाई सभापति देउवाले निर्वाचनका बेला गरेको उद्घोष अनुसार मन्त्री बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले पार्टी रूपान्तरणको नाममा पार्टी सभापतिलाई कमजोर पार्ने कार्य भइरहेको बताउँदै यसले अन्ततः काँग्रेसलाई कमजोर पार्ने जिकिर गर्नुभयो । उहाँले यस्ता गतिविधि पार्टीको कुन विधि विधान अनुसार भइरहेको छ भन्दै प्रश्न समेत गर्नुभयो ।

“पार्टी सभापतिलाई कमजोर गरेर पार्टी रूपान्तर हुन्छ भन्ने कुरा सपना सिवाय अरू हुन सक्दैन । पार्टी कमजोर भए कुनै पनि बेला दुर्घटना हुन सक्छ,” उहाँले भन्नुभयो । उहाँले भक्तपुर क्षेत्र नं. २ मा काँग्रेसले एक पटक चुनाव जित्ने र अर्को पटक हार्ने इतिहास रहेको स्मरण गराउँदै आगामी २०८४ को निर्वाचनमा पुनः काँग्रेसले जितेर इतिहास तोड्ने उद्घोष समेत गर्नुभयो ।

उहाँले पार्टीमा केही कमजोरी हुन सक्ने बताउँदै त्यस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिया पसल र सामाजिक सञ्जालमा काँग्रेसलाई गाली गर्नेहरूलाई काँग्रेसमा कुनै स्थान नरहेको र कुनै अवसर पनि नपाउने चेतावनी दिनुभयो ।

सो अवसरमा भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट प्रदेश अस्पताल बनाउन योगदान दिनुहुने अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थ र सम्मेलनको र निर्वाचनमा प्रचार सामग्री तयारीमा अतुलनीय सहयोग गर्नुहुने साइनो आर्टका बलराम प्रजापतिलाई सम्मान गरिएको थियो । साथै नेपाल सांस्कृतिक सङ्घका कलाकार एवम् थिमिको बाँसुरी खलःले कुमारी नृत्य, लाखे नाच, झ्याउरे नाच र बाँसुरीको मिठो धुनसहितले स्वागत गरेको थियो । यसै गरी कलाकार एवम् जादुगर शेरबहादुर तामाङले जादुको माध्यमबाट मनोरञ्जन गराउनुभएको थियो ।

सम्मेलनमा काँग्रेसका करिब एक हजार ३ सय प्रतिनिधि सहभागी छन् । सम्मेलनमा सभापति थापाको राजनीतिक प्रतिवेदन, सचिव सुशील बस्नेतको वार्षिक प्रतिवेदन एवम् भावी कार्य योजना र कोषाध्यक्ष धर्म रत्न खाईतुको आर्थिक प्रतिवेदनमाथि बन्द सत्रमा छलफल हुने सम्मेलन तयारी समितिका संयोजक कृष्ण मुरारी न्यौपानेले जानकारी दिनुभयो ।