भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ३,७ र ९ का वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको लागि आयोजित १ दिने विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमाल, वडा नं ७ का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु (श्रेष्ठ) र वडा नं ९ का वडाध्यक्ष गणेश त्यातको संयोजकत्वमा क्रमशः वडा नं ३,६ र ९ मा सम्पन्न अभिमुखीकरण कार्यक्रमहरूमा सहभागीहरूले वडा तथा नगरपालिकाले विपद् व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा अगाडी बढाउनुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरूले मनसुनको समय अगावै आवश्यक राहत सामग्रीहरू तयारी अवस्थामा राख्नको लागि वडा तथा नगरपालिकालाई आग्रह गर्नुभयो । साथै समुदायमा तत्काल कुनै विपद् आएमा तत्काल प्रतिकार्यको लागि तालिम प्राप्त जनशक्ति पनि समुदाय स्तरमै तयारी अवस्थामा राख्नुपर्ने सुझाव पनि दिनुभएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले वडा कार्यालयलाई रकमको सीमा तोकेर खर्च गर्नको लागि खाता खोल्ने व्यवस्था मिलाउन सकेमा वडा स्तरबाटै राहत सामग्रीहरू खरिद गरी वितरण गर्ने व्यवस्था गर्न सकिने बताउनुभयो । नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको विषयमा प्राथमिकताका साथ गतिविधिहरू सञ्चालन गर्न सुरु गरेकोमा खुसी व्यक्त गर्नुहुँदै वडा अध्यक्ष त्यातले तत्काल प्रदान गरिएको राहत सामग्री(प्लास्टिक रोल) का कारण अघिल्लो वर्षको वर्षातमा स्थानीयको घर जोगाउन सफल भएको कुरा पनि सुनाउनु भएको थियो ।
उहाँले आगामी वर्षको बजेटमा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम तथा गतिविधिहरूको लागि वडाले बजेट विनियोजन गरी वार्षिक कार्य योजना बनाई गतिविधिहरू सञ्चालन गरी समुदायको क्षमता तथा सचेतना अभिवृद्धि गर्दै लैजाने बताउनुभयो ।
वडा नं ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमालले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी तयार गरेका ऐन, नीति, नियम, कार्याविधिहरुको आधारमा आगामी दिनमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिहरू समुदाय र विद्यालय स्तरमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाको विपद् व्यवस्थापन समितिको समन्वय र स्थानीय सरोकारवाला निकायहरूसँगको सहकार्यमा वडा भित्र विपद् पूर्व तयारीका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो । समुदायमा विद्यमान पहिरोका जोखिमहरूको न्यूनीकरणका लागि वडाले पनि बजेट विनियोजन गरी नगरपालिका समक्ष सहयोगको लागि अनु पर्याप्त नभएकोले नगरपालिकाले यस तर्फ ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।
त्यसै गरी एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने चाँगुनारायण नगरपालिकाको नीति अनुरूप ९ वटै वडामा वडा स्तरीय विपद् व्यवस्थापन समिति पूर्नगठन, खोज तथा उद्धार सामग्री भण्डारण, गैह्र खाद्य राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली र प्राथमिक उपचार टोली गठन गर्न गइरहेको कुराको प्रशंसा गर्नुहुँदै वडा नं ७ का वडाध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठले बागेश्वरीमा पहिरो र बाढीको जोखिम भएकाले दिगो रूपमा रोकथाम एवं न्यूनीकरणका लागि बजेट विनियोजनका लागि चाँगुनारायण नगरपालिका समक्ष अनुरोध गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने गरी प्रत्येक वडाले कम्तीमा २० लाख रुपैयाँ आगामी २०८०÷०८१ को बजेटमा विनियोजन गर्नुपर्ने बताउनुभयो ।
मनसुनको समय आइरहेकोले सम्भावित सहरी बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरूको पहिचान गरी पूर्व तयारीका गतिविधिहरू सञ्चालनका साथै प्रतिकार्यका लागि तयारी रहन, आगामी आर्थिक वर्षको नीति तथा योजना र बजेटमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम तथा गतिविधिहरू समावेश गर्नको लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिकाको आयोजना तथा आइसेट नेपाल र डिसिएको साझेदारीमा सञ्चालित नेक्सस परियोजनाको सहयोगमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ बमोजिम वडा स्तरीय विपद् व्यवस्थापन समितिको पूर्नगठन, विपद् जोखिम न्यूनीकरण एवं मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण, आर्थिक वर्ष २०८०÷०८१ मा विपद् व्यवस्थापनमा समेट्नुपर्ने कार्यक्रम तथा गतिविधि सम्बन्धी विषयमा सहभागीहरू बिच छलफल र समूह कार्यहरू गरी सुझाव सङ्कलन गरिएको थियो ।
२०८० साल जेठ ३१ गते वडा नं ७ र असार १ गते वडा नं ९ र ३ मा सञ्चालित अभिमुखीकरणमा चाँगुनारायण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरू राजकुमार लम्साल, भरत ढुङ्गाना र ऋषि खड्काले सहजीकरण गर्नु भएको थियो । अभिमुखीकरणमा कार्यक्रममा ३१ महिला र ६४ पुरुष गरी जम्मा ९५ जनाको सहभागिता रहेको थियो ।