ललिता निवासको जग्गा धितो राखेर साढे २ अर्ब ऋण !

125

काठमाडौं । ललिता निवासको विवादास्पद जग्गा ज–जसले अनेक हर्कत गरेर आफ्नो बनाउने सम्भव तुल्याए, तीमध्ये अधिकांशले त्यसैलाई धितो राखेर ठूलो मात्रामा ऋण लिएको पाइएको छ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार ऋण लिइएको कागजात पाइएकाे हाे ।

नेपाल बैंक, हिमालयन बैंक, यती डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, बैंक अफ एसिया नेपाल, काठमाण्डप डेभलपमेन्ट बैंक, एनआईडीसी डेभलपमेन्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एन्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक र किष्ट बैंकमा ललिता निवासको जग्गा धितो राखी ऋण लिएको पाइएको छ। यीमध्ये केही बैंक एकापसमा मर्जर भएर नाम पनि परिवर्तन भइसकेका छन्। यस्तै, आईएमई फाइनान्स इन्स्टिच्युट, युनिक फाइनान्स इन्स्टिच्युट, आर्या तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतबाट पनि उनीहरूले ऋण लिएका छन्।

ललिता निवास प्रकरणका प्रमुख बिचौलिया शोभाकान्त ढकाल, राजकुमार सुवेदी र मीनबहादुर गुरुङ तथा उनीहरूका परिवारले पटक–पटक यही जग्गा धितो राखेर विभिन्न बैंकबाट करोडौं रकम ऋण झिकेको देखिन्छ। एउटै व्यक्तिले ६३ करोडसम्म जग्गा धितोमार्फत ऋण लिएको पाइएको छ। पुरुषोत्तम पौडेलले नेपाल इन्भेस्टमेन्ट बैंकबाट दुई पटकमा ६३ करोड १० लाख रुपैयाँ ऋण लिएका थिए। उनले ०६३ माघ २३ मा २६ करोड र त्यसको १० वर्षपछि ०७२ असार २४ मा ४३ करोड १० लाख धितोबापत ऋण लिएका थिए। पौडेलले प्रहरीसँगको बयानमा इन्दु शर्माबाट ३० लाखमा जग्गा खरिद गरेको बताएका छन्। ३० लाखको जग्गामा उनले ६३ करोड ऋण लिएको देखिएको छ।

पौडेललाई जग्गा बेच्ने इन्दु शर्माले पनि ६३ करोड १० लाख नेपाल इन्भेस्टमेन्ट बैंकबाट ऋण लिएकी छिन्। उनले ०६४ वैशाख २३ मा २६ करोड र ०७२ असोज १७ मा ४३ करोड १ लाख ऋण लिएकी थिइन्। उमाकुमारी ढकाल र माधवी सुवेदीले आईएमई फाइनाइन्स इन्स्टिच्युसनबाट एकै वर्ष दुईपटक जग्गा धितो राखेर बैंकबाट पैसा लिएको देखिन्छ। उमाकुमारी ललिता निवास प्रकरणका मुख्य बिचौलिया शोभाकान्त ढकालकी श्रीमती हुन्। माधवी अर्का बिचौलिया राजकुमार सुवेदीकी पत्नी हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।