भक्तपुर उद्योग वाणिज्यसंघका पूर्व अध्यक्षहरु सम्मानित

50

– विश्वराम दुवाल
भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु तथा सल्लाहकारहरुलाई सोमबार सम्मान गरिएको छ । गुरु पूर्णिमाको अवसरमा संघको सभाहलमा आयोजित एक कार्यक्रमका बीच संघका पूर्वअध्यक्षहरु तथा सल्लाहकारहरुलाई सम्मान गरिएको हो ।

संघको विकास र विस्तारमा गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै उनीहरुलाई सम्मान गरिएको संघले जनाएको छ । संघका कार्यसमिति सदस्यहरुले पूर्वअध्यक्ष एवं सल्लाहकारहरु कृष्णप्रसाद ताम्राकार, युवक राजभण्डारी, विवेकमान कर्माचार्य, उत्तमप्रसाद वैद्य, मोहनप्रसाद ताम्राकार, प्रज्वल जोन्छें, कृष्णप्रसाद अवाल, रामप्रसाद प्रजापति, प्रदिप श्रेष्ठलाई खादा ओढाई अबिर लगाइदिएर सम्मान गरेका हुन् ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले गुरु पूर्णिमाको अवसरमा संघका पूर्वअध्यक्ष तथा सल्लाहकारहरुलाई सम्मान गर्न पाउँदा आफूहरु एकदमै हर्षित भएको बताए ।

‘अग्रजहरुकै कारण भक्तपुर उद्योग वाणिज्य संघ आजको स्थानसम्म आइपुगेको हो’, उनले भने, ‘पूर्वअध्यक्षहरु एवं सल्लाहकारहरुले पु¥याउनुभएको योगदान प्रशंसनीय छ, त्यसैले उहाँहरुको योगदानलाई कदर गर्दै संघले सम्मान गरेको हो ।’

उनले पूर्वअध्यक्ष एवं सल्लाहकारहरुलाई गुरु पूर्णिमाका दिनमा सम्मान गर्ने यस वर्षबाट थालनी गरिएको बताए । अबदेखि वार्षिक कार्यक्रम तालिकामा समेटेर बर्सेनि पूर्वअध्यक्ष एवं सल्लाहकारहरुलाई सम्मान गर्दै जानुपर्ने बताए ।

संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले पूर्वअध्यक्ष एवं सल्लाहकारहरुको सल्लाह, सुझावलाई संघले सदैव शिरोपरगरी अगाढी बढने बताइन् । पूर्वअध्यक्ष एवं सल्लाहकारहरुको मार्गनिर्देशन हात्मसाथ गरेकोले संघले सफलता हासिल गर्न सकेको स्पष्ट पारिन् ।

सम्मानित हुने संघका पूर्वअध्यक्ष एवं सल्लाहकारहरुले आ–आफ्नो कार्यकालमा भएका अनुभवहरु सुनाएका थिए ।
उनीहरुले आगामी दिन पनि संघको बृहत् हितका लागि आवश्यक सल्लाह सुझाव दिन तथा अन्य सहयोग गर्न आफूहरु सदैव तयार रहेको बताए ।