नेपाल व्यापार सूचना पोर्टलबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

19

 

विश्वराम दुवाल
भक्तपुर । भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुलाई लक्षित गरी बुधबार नेपाल व्यापार सूचना पोर्टलसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुर र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संघको सभाहलमा अभिमुखीकरण कार्यक्रम भएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बनाएको नेपाल व्यापार सूचना पोर्टल व्यवसाय प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण भएकोले यस पोर्टलसम्बन्धी उद्योगी, व्यवसायीहरुलाई सुसूचित गराउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ ।
कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले उद्यमबिनाको जीवन निरर्थक हुने धारणा राख्दै सबैलाई उद्यमसँग जोडिन आग्रह गरे । संघले स्थापनाकालदेखि जिल्लाका उद्योगी, व्यवसायीहरुको हकहितको पक्षमा लागि पर्दै आएको भन्दै उनले आगामी दिनमा पनि उद्योगी, व्यवसायीहरु लाभान्वित हुने क्रियाकलापहरु गर्दै जाने विश्वास दिलाए । उनले व्यापारबारे सही सूचना दिने उद्देश्यका साथ पोर्टल स्थापना गरिएकोले त्यसबाट फाइदा लिन सहभागी सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुरका उपनिर्देशक राजेन्द्र सिंहले पोर्टलबारे प्रस्तुतीकरण दिँदै पोर्टलमार्फत नेपालमा व्यापारको वर्तमान अवस्था, आयात, निर्यातको अवस्थालगायत व्यापारसम्बन्धी धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सकिने बताए । आफूलाई आवश्यक वस्तु आयात र आफूले उत्पादन गरेको वस्तु निर्यातका विषयमा यस पोर्टलबाट जानकारी दिइने भएकाले यसले नेपालका उद्योगलाई बजारको व्यवस्थापनका लागि सहयोग पुग्ने उनको भनाइ छ । उनले पोर्टलमा वस्तु आयात र निर्यात गर्ने जानकारी मात्रै नभई उद्योग दर्ता र लगानीका विषयमा समेत जानकारी रहेकोले सबै उद्योगी, व्यवसायीका लागि फाइदाजनक रहेको स्पष्ट पारे ।
केन्द्रका वरिष्ठ अधिकृत नवराज मरहठ्ठाले पोर्टलले क्रेता तथा बिक्रेतालाई भेटघाट गराउने बताए । उत्पादकदेखि आयातकर्तासम्मले आवश्यक सूचना यस पोर्टलमार्फत थाहा पाउन सकिने भन्दै उनले यस पोर्टलमा स्वदेशमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार तथा विदेशमा उत्पादित वस्तुको नेपालमा व्यापार गर्न चाहिने सबै सूचना समावेश रहेको जानकारी दिए । यसमा रहेको छ ।
संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले नेपाल व्यापार सूचना पोर्टल मझौलादेखि ठूला उद्योगी, व्यवसायीहरुको लागि अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेकोले आजको कार्यक्रम फलदायीपूर्ण रहेको बताइन् । कार्यक्रममा सहभागीहरुमध्ये जीजे पोल्ट्र«ी प्रालिका सिसिर किसी, बागमती ट्रेड कन्सर्नका चक्र बोहोरा, राय ह्यान्डीक्र्याफ्टका विनोदचरण राय र प्रकाश भुर्तेल पोर्टलसम्बन्धी जिज्ञासा राखेका थिए भने सिंहले ती जिज्ञासाहरुबारे स्पष्ट पारेका थिए । संघको सचिवालयका कार्यकारी अधिकृत सत्यराम त्वातीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न उद्योग, फर्म, प्रतिष्ठान, संघ संस्थाका गरी ४० जना प्रतिनिधि सहभागी भएका थिए ।