चाँगुनारायण नगरपालिकाले तयार ग¥यो मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना 

67

खरीपाटी, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाले २०८० सालको मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारेको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल सरकारले तयार गरेको निर्देशिका बमोजिम नगरपालिकाले योजना तयार पारेको हो ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० मा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विद्यमान रहेको क्षमता र मनसुनजन्य प्रकोपको संकटासन्नताका कुरालाई समेटिएको छ । योजनामा विषयगत क्षेत्रले गर्ने कार्यहरूलाई समेत पूर्व तयारी तथा प्रतिकार्य गरी दुई भागमा तयार पारिएको योजनामा  नगरपालिकाको प्रतिकार्य कार्य ढाँचाका समेत समावेश गरीएकोछ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आगामी मनसुनमा हुनसक्ने बाढी, पहिरो, नदीको कटान, चट्याङ्ग, महामारी जस्ता विपद्बाट सहर, गाउँ, बस्ती, पशुपक्षी, बालीनाली र नगर बासीको स्वास्थ्यमा पु¥याउन सक्ने जोखिमको विश्लेषण गर्दै त्यस प्रति सजग रहन, तत्काल राहत तथा उद्धार कार्यका लागि नगरपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन समिति, वडा स्तरीय विपद् व्यवस्थापन समिति, विषयगत शाखाहरूको अधिकतम रूपमा परिचालन गरी सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी लगायत निजी तथा गैह्र सरकारी निकायहरूसँगको सहकार्य र सहयोगमा पूर्व तयारी र राहत तथा उद्धार कार्य छिटो छरितो एवं विश्वसनीय बनाउनु कार्य योजनाको उद्देश्य रहेको बताउनुभयो ।

उहाँले मनसुनजन्य विपद्को अवस्थामा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अनुरूप पूर्व तयारी तथा तत्काल प्रतिकार्यको लागि नगर स्तरीय आकस्मिक कार्य सञ्चालन केन्द्र अन्तर्गत आधारभूत खोज उद्धार सामग्री सहितको नगर प्रहरी सम्मिलित द्रुत प्रतिकार्य टोली, स्वास्थ्य सम्बन्धी द्रुत प्रतिकार्य टोली गठन भई  नगरपालिकामा तयार रहेको, बाढी पहिरो चट्याङ्ग, डेंगी लगायतका विपद्बाट बच्नको लागि जनचेतनामूलक सूचना तथा सन्देशहरू स्थानीय एफ.एम, नगरपालिकाको फेसबुक पेजबाट प्रसारण भइरहेको छ भने वडा स्तरमा अभिमुखीकरण र पर्चा वितरण कार्य पनि गर्न गइरहेको जानकारी दिनुभयो । साथै नगरपालिकाको तर्फबाट आम नगर बासीलाई मनसुनजन्य विपद् सम्बन्धी सचेतनाको लागि सन्देश सहित सहकार्यको लागि समेत आव्हान गरिएको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो ।

नगर प्रमुख खत्रीका अनुसार चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउने हेतुले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्न आगामी आर्थिक वर्षमा नगरपालिकाले वडा स्तरमा द्रुत प्रतिकार्य टोली गठन एवं प्रशिक्षण सञ्चालन, विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना, स्थानीय विपद् उत्थानशील कार्य ढाँचा, विद्यालय विपद् पूर्व तयारी कार्यक्रम, निजी तथा सार्वजनिक साझेदारी अन्तर्गत सहकारी, विद्यालय, उद्योग तथा कलकारखानाहरूसँग सहकार्य गरी विपद् जोखिम न्यूनीकरणका गतिविधिहरू सञ्चालन, विपद् जोखिम न्यूनीकरण सम्बन्धी सूचना, शिक्षा र सञ्चार सामग्रीहरू प्रकाशन एवं वितरण, विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण, स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरणलाई समावेश गर्नुका साथै विपद् व्यवस्थापन कोष समेत गरी ३ करोड ५६ लाख ५० हजार रुपैयाँको बजेट विपद् व्यवस्थापन अन्तर्गत विनियोजन गरिएको छ ।

योजना निर्माणका लागि आइसेट नेपाल र  डिसिए नेपालले चाँगुनारायण नगरपालिकामा सञ्चालन गरिरहेको नेक्सस परियोजना मार्फत आर्थिक र प्राविधिक सहयोग गरेको थियो । आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दीक्षितले चाँगुनारायण नगरपालिकामा उत्थानशील समुदाय निर्माणमा हातेमालो गर्न पाएकोमा खुसी लागेको बताउनुहुँदै नगरपालिकासँगको सहकार्यमा प्रत्येक वडामा खोज तथा उद्धार सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाको संयोजकत्वको  कार्यदलले तयार गरेको  योजना निर्माण कार्यदलमा नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, आई सेटका भरत ढुङ्गाना, राजकुमार लम्साल तथा ऋषि खड्का सहभागिता रहेको थियो । योजना तयारीका सन्दर्भमा ९ वटै वडामा रहेको विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य लगायत सरोकारवालाहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक सूचना, तथ्याङ्क तथा सुझाव सङ्कलन गरी सरोकारवाला निकायहरूको सुझावलाई समावेश गरी योजना तयार पारिएको हो ।