आयातकर्ता कम्पनीका मालिक नै मजदुर !

51

काठमाडौ । हङकङबाट क्याथे प्यासिफिकको फ्लाइटमार्फत अवैध ढंगबाट भित्रिएको सुनको आयातकर्ता कम्पनी ‘रेडी ट्रेडर्स प्रालि’ रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ। तीन महिनाअघि मात्रै दर्ता भएको उक्त कम्पनी २१ वर्षीया दिलीप भुजेलका नाममा दर्ता भएको पाइएको छ। अवैध सुन आयात गर्ने कम्पनीका मालिक भएकाले दिलीप पक्राउ परिसकेका छन्। यो कम्पनीले मोटरसाइकल र स्कुटरको स्पेयर पार्टस्को आयात गर्ने प्रयोजन लिएको स्रोतको भनाइ छ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ र दाह्री काट्ने ‘रेजर’भित्र राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याइएको अवस्थामा विभागले ठुलो परिमाणमा सुन बरामद गरेको हो। विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिर पनि लगिसकेको अवस्थामा ट्याक्सीबाट सिनामंगलमा सुन बरामद गरिएको थियो। यसरी अर्बौंको अवैध सुन आयात गर्ने कम्पनीको मालिक भनिएका दिलीपको आर्थिक हैसियत भने निकै कमजोर रहेको पाइएको छ। उनको परिवार काठमाडौंमा ज्याला मजदुरी गरेर बस्ने गरेको नजिकबाट चिन्नेहरूको दाबी छ। यसले अवैध रूपमा भित्र्याइएको सयौं किलोग्राम सुनको मुख्य मालिक को हो भन्नेमा थप आशंका पैदा गरेको छ।

दिलीप दोलखाको मेलुङ गाउँपालिका–१ (साबिकको पवटी गाविस–२) का स्थायी बासिन्दा रहेको गाउँपालिका अध्यक्ष हीराकुमार तामाङले नागरिकसँग बताए। उनले भने, ‘उनलाई म राम्रैसँग चिन्छु। उनी त्यो हैसियतका व्यक्ति नै होइनन्। न उनको परिवारको हैसियत नै त्यति ठुलो कम्पनी चलाउन सक्ने किसिमको छ।’ अध्यक्ष तामाङका अनुसार दिलीप काठमाडौंमा बसेर ज्यालामजदुरी गरी जीविका चलाउँदै आएका व्यक्ति हुन्। रेडी ट्रेडर्स प्रालिका मालिक भनिएका दिलीपलाई भने विभागको टोलीले उनीबारे जानकारी बटुलेर चलाखीपूर्ण तरिकाले पक्राउ गरेको जनाएको छ।

दिलीप मात्र नभई सुन तस्करीमा संलग्न रहेर पक्राउ परेका मेलुङ गाउँपालिका–३ घर भई काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेलको पनि आर्थिक स्तर कमजोर रहेको गाउँपालिका अध्यक्ष तामाङले बताए। रामकुमार काठमाडौंमा ट्याक्सी चलाएर जीविका चलाउँदै आएको आफ्नो जानकारीमा रहेको उनले बताए।

‘दुवैजनाको कम्पनी विदेशबाट यति ठुलो मात्रामा सुन तस्करी गर्छ भन्ने कुरा विश्वास नै गर्न सकिन्न। कहीँ न कहीँ यसमा कुनै अन्य व्यक्तिको हात छ। उनीहरूको संलग्नता भए पनि केही रकमको प्रलोभनमा भएको हुन सक्छ,’ अध्यक्ष तामाङले भने। प्रकरणमा हालसम्म दिलीप र रामकुमारसहित आठजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई, तिब्बतियन मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई छन्।

यसबाहेक यसै प्रकरणमा संलग्नताको आशंकामा बिहीबार चिनियाँ नागरिक ली चुवाङ पनि पक्राउ परेका छन्। नेपाल छाडेर जाने तयारीमा रहेको सूचना पाएपछि विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनलाई जानकारी गराएको थियो। अध्यागमनको टोलीले उनलाई पक्राउ गरेर विभागलाई जिम्मा लगाएको छ। उनी सात महिनादेखि नेपालमा रहेको खुलेको छ। यस्तै विभागले बिहीबार साँझ कोटेश्वरबाट थप दुईजनालाई पक्राउ गरेको जनाएको छ। उनीहरूको पहिचान भने खुलाइएको छैन।

सुनसहितको तौल १५५ केजी  

बरामद सुनसहितको ब्रेक सुको तौल १५५ किलो रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलले जनाएको छ। बिहीबार दिउँसो टक्सार पुर्याएर सुनको तौल निकालिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। सुनको गुणस्तरबारे यकिन हुन बाँकी रहेको आचार्यले बताए।

उनले भने, ‘परीक्षण गर्न बाँकी नै छ। अरू धातुको मात्रा कति छ, थाहा छैन। सिलबन्दी गरेर जस्तो ल्याइएको छ, त्यस्तै तौल निकालिएको हो।’ आठवटा पोकामा उक्त सुन राखिएको छ।

भन्सार विभागद्वारा छानबिन समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन भएको छ। भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। समितिलाई जाँचबुझ गरी पाँचदिनको समय दिई प्रतिवेदन बुझाउन समय दिइएको छ।

१० दिन थुनामा राख्न अनुमति

राजस्व अनुसन्धान विभागले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई बिहीबार नै उच्च अदालत पाटनमा उपस्थित गराएर अनुसन्धानका लागि अनुमति मागेको छ। जसअनुसार अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न सहमति दिएको छ। पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनले जनाएको छ। नागरिक दैनिकबाट