काठमाडौँ । गएको साउन ५ गते शनिवार विद्यार्थी आदान प्रदान कार्यक्रममा नयाँ दिल्ली गएका ट्रिटन सेकेण्डरी स्कुल तीनकुनेका १९ जना विद्यार्थी नयाँ दिल्लीका स्कुले विद्यार्थीहरूको घरमा पाहुना बनेर नौलो अनुभव सँगाली नेपाल फर्केका छन् ।
विद्यालयकी निर्देशक ममता शाहको नेतृत्वमा भारत नयाँ दिल्लीको विकास पुरी स्थित आदर्श पब्लिक स्कुलको मैत्रीपूर्ण निमन्त्रणमा १९ जना विद्यार्थी तथा अरू ३ जना शिक्षकको टोली त्यहाँ गएको थियो ।
टोलीमा ट्रिटन स्कुलका भाइस प्रिन्सिपल सुजित तामाङ, अतिरिक्त क्रियाकलाप संयोजक शिव गैरे तथा शिक्षिका मन्दिरा बुढाथोकी संलग्न थिए ।
साउन ६ गते अपराह्न आदर्श पब्लिक स्कुल विकास पुरीमा पुगेका ती विद्यार्थीलाई सो विद्यालयकी प्रिन्सिपल पूजा मल्होत्राले स्वागत गरेकी थिइन् । विद्यालयमा आयोजित स्वागत तथा सांस्कृतिक आदान प्रदान र आँखामा पट्टि बाँधेर देखाउने कला (ब्लाइण्ड फोल्ड) कार्यक्रम पछि आदर्श पब्लिक स्कुलमा पढ्ने विद्यार्थीहरूले ट्रिटन स्कुलका दुई÷दुई जना विद्यार्थीलाई आ आफ्नो घरमा पाहुना बनाएर लगेका थिए ।
दिल्लीमा गएका १९ जना विद्यार्थीहरूमा सायना धौगोडा, अनुस्का साह, विद्या आचार्य, डिसुजा चौधरी, आर्या खड्का, सनाया कर्ण, अनिशा शिव भक्ति, उपासना थापा, आस्था साह, प्रतीक्षा श्रेष्ठ, प्रतीक्षा घिमिरे, अद्धत्ता धौगोडा, सुहाना श्रेष्ठ, आर्या खत्री, अंकिता चौलागाई, कृष्ण चौहान, अद्धविक धौगोडा, आयुष श्रेष्ठ र मुकेश कुँवर थिए ।
जस मध्ये सनाया कर्ण र सायना धौगोडा पविता शर्माको घरमा पाहुना बनेका थिए भने अद्धविक धौगोडा र कृष्ण चौहान अनुष्का र केशवको पाहुना बने ।
यसै गरी अनिशा शिव भक्ति र आर्या खड्कामा हित्यागीको पाहुना र आर्या खत्री वाली नगरकी लविका सारणको पाहुना बनेकी थिइन् । यसरी नै ट्रिटन बाट गएका अरू विद्यार्थी पनि आदर्श पब्लिक स्कुलका अरू विद्यार्थीहरूको घरमा पाहुना बनेर नयाँ अनुभव सँगालेका थिए ।
त्यसो त शिक्षिका मन्दिरा बुढाथोकी पनि त्यहाँकी शिक्षक वन्दना खन्नाको पाहुना बनेकी थिइन । पाहुना बनेका ट्रिटनका विद्यार्थीलाई आफ्नै घरको सदस्य सरह मानेर अतिथि सत्कार गरेका थिए भने फर्किने बेलामा खानेकुरा र अन्य उपहारका सामग्री किनेर बिदा गरेका थिए ।
पाहुना बनेर बस्दा आयोजक घरको दिदी दाइ र साथीहरूका साथै घरका अङ्कल अन्टीहरुले माया गरेको अनिशा शिव भक्तिले बताइन् ।
नयाँ दिल्ली बसाइँका क्रममा विद्यार्थीहरूले इन्डिया गेट, गुरुद्वारा, लोटस टेम्पल, विज्ञान सङ्ग्रहालयको साथै प्यासी फीकमलको भ्रमण गरेका थिए । नेपाल फर्किने बेलामा आदर्श पब्लिक स्कुलकी प्रिन्सिपल पूजा मल्होत्राले ट्रिटन स्कुलका निर्देशक ममता शाह, भाइस प्रिन्सिपल सुजित तामाङ, अतिरिक्त क्रियाकलाप संयोजक कशिव गैरे र शिक्षिका मन्दिरा बुढाथोकीलाई उपहार प्रदान गरेकी थिइन् भने ट्रिटन स्कुलका निर्देशक ममता शाहले आदर्श पब्लिक स्कुलकी प्रिन्सिपल पूजा मल्होत्रालगायतलाई ट्रिटन स्कुलको तर्फबाट उपहार प्रदान गरेकी थिइन् । (बलराम प्यासी)