पूर्ण बजेटकै तयारी

478

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७४÷०७५ को आय–व्ययको वार्षिक विवरण (बजेट) पूर्ण आकारकै ल्याउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि कामचलाउ प्रकृतिको बजेट ल्याउने सहमति भएपनि अर्थ मन्त्रालयले नियमित प्रकृतिको बजेट ल्याउने तयारी गरिरहेको छ। बजेट निश्चित मापदण्ड र खाकाका आधारमा निर्माण हुने भएकाले पूर्ण वा कामचलाउ जे भनिए पनि निर्दिष्ट खाका अनुसारकै बजेट आउने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘आय–व्ययको वार्षिक विवरणबारे बजारमा कसले के भन्छ? त्यो हामीलाई थाहा हुने कुरा भएन बजेट आफ्नै स्वरुप र आकार अनुसारकै आउँछ’ ती अधिकारी भन्छन्। उनका अनुसार आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा २५ प्रतिशत रकम वृद्धि गरी बजेट बनाउने काम भइरहेको छ।