ललितपुर, २६ साउन । ज्यापु समाज ललितपुरले बागमती प्रदेशका नवनियुक्त सामान्य प्रशासन तथा उद्योग मन्त्री लगायत ललितपुर जिल्लामा कार्यालय प्रमुख भएर आएका तथा सरुवा र पदोन्नति भई अन्यत्र जान लागेका विशिष्ट अधिकारीहरूलाई शुक्रवार सम्मान गरेको छ ।
ज्यापु समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जन, पूर्व अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्य, पूर्व अध्यक्षहरू चन्द्र महर्जन, वीर सिंह महर्जन, रामकाजी अवाले, मङ्गल महर्जन, कुललाल डङ्गोललगायतले नेवारी परम्परा अनुसार, जुजुधौ, टीका, माला, सगुन, ढाकाको टोपी तथा प्रशंसा पत्र दिएर उनीहरूलाई सम्मान गरेका हुन् ।
यसरी सम्मानित हुनेहरूमा बागमती प्रदेशका नवनियुक्त उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशका पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र पूर्व प्रजिअ जयनारायण आचार्य छन् ।
यसै गरी सम्मानित हुनेहरूमा ललितपुर महानगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती तथा पूर्व प्रशासकीय अधिकृत गणेश अर्याल, राष्ट्रिय भूमि आयोग ललितपुरका अध्यक्ष श्री गोविन्द महर्जन र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ छन् ।
ज्यापु समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले समाजको स्थापनाकालदेखि हालसम्म भए गरेका कामबारे चर्चा गरे ।