
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले स्व. कार्कीको व्यक्तित्वको चर्चा गर्दै पार्टी र देशको लागि योगदान दिनुहुने सबै राजनीतिक नेता कार्यकर्ताहरूलाई जनताले पनि सदैव सम्झिरहने बताउनुभयो ।
उहाँले अहिले सामाजिक सञ्जालहरूमा विना ज्ञान नै टिप्पणी गर्ने र पार्टीका नेताहरू माथि हिलो छ्याप्ने प्रवृत्ति मौलाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेताले कायकर्ताहरूको र कार्यकर्ताहरूले नेताहरूको घर परिवारका बारेमा जानकारी राख्ने गर्नाले पार्टी सबैको दुःखसुखको साथी बन्न सक्ने बताउनुभयो ।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले निक्कै हक्की स्वभावका स्व. कार्की इमानदार मात्र नभई पार्टीको बफादार नेता रहेको स्मरण गर्नुभयो । नेपाली काँग्रेसका नेता कबिर राणाले भक्तपुरमा विशेष गरी बालकोटमा काँग्रेसको सङ्गठन बिस्तारमा स्व. कार्कीको योगदान ठुलो रहेको चर्चा गर्नुभयो ।