देश भ्रष्टाचारका काण्डै काण्डले अराजकताको भुमरीमा फस्यो : कोइराला 

100

भक्तपुर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकताको भुमरीमा फस्दै गएको बताउनुभएको छ ।

भक्तपुर क्षेत्र नम्वर २ प्रदेश २ को ऐतिहासिक पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले देश भ्रष्टाचारका काण्डै काण्डका कारण अराजकताको भुमरीमा फसेको बताउनुभएको हो ।

उहाँले काण्डै काण्डको चाङमा पछिल्लो सुन काण्डले सबै काण्डलाई बिर्साइ दिएको टिप्पणी समेत गर्नुभएको थियो  ।

“देश अराजकतातर्फ गइरहेको छ । काण्डै काण्डले देश अप्ठ्यारो परिस्थितिमा गइरहेको छ । त्यो काण्डहरूमा पछिल्लो काण्ड सुन काण्ड जोडिन आएको छ । यो काण्डले सबै काण्डहरूलाई बिर्साइ दिएको जस्तो लाग्न थालेको छ,” उहाँले भन्नुभयो ।

उहाँले संसद्मा सुन काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सांसद सुनिल शर्मालाई पक्राउ गरिएको हो की भन्ने आशङ्का व्यक्त गर्दै देशमा प्रतिशोधको राजनीति विकास भइरहेको बताउनुभयो ।

उहाँले प्रतिशोधको भावनाले राजनीति राजनीति नरहने टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिमा जब प्रतिशोधको भावना हुन्छ, तब राजनीति राजनीति रहँदैन ।”

उहाँले देशको लागि प्रत्यक्ष निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताउनुभयो । “समानुपातिक खराब त म भन्दिन । तर प्रत्यक्ष निर्वाचन बाहेक अर्को तरिकाले जान थाल्यौँ भने, यही प्रकारको समानुपातिकमा जान थाल्यौँ भने देश छिटो भन्दा छिटो दुर्घटनामा जान्छ,” उहाँले भन्नुभयो, “त्यस कारण प्रत्यक्ष निर्वाचन प्रणालीले उत्तम हो ।”

उहाँले काँग्रेसले एक्लै निर्वाचन लड्नुपर्छ मान्यता धेरै काँग्रेसीको मत रहेकोले त्यसलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसमा व्यक्तिवादी चरित्र र स्वार्थीपना हाबी भएको बताउँदै उहाँले त्यसले काँग्रेसलाई बलियो नबनाउने धारणा राख्नुभयो । उहाँले काँग्रेसले जातियता र साम्प्रदायिकतालाई पनि प्रशय दिन नहुने बताउनुभयो ।

उहाँले पार्टीभित्र गुट उपगुटको अन्त्यका लागि नेता कार्यकर्ता कसैको इशारामा नभई आफ्नो स्वविवेक प्रयोग गरी पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यतामा चल्नुपर्नेमा जोड दिनुभएको थियो  ।