३६ वर्षपछि कोसी ब्यारेजको ५६ वटै ढोका खोलियो

129

राजविराज । सप्तकोसी नदीमा सोमबार बिहान यस वर्षकै पानीको उच्च बहाव भएपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

कोसी ब्यारेजको इतिहासमै ५६ वटै ढोका खोलिएको यो तेस्रोपटक हो । यसअघि सन् १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक तथा सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक प्रतिसेकेन्ड पुग्दा ५६ वटै ढोका खोलिएको इतिहास छ ।

पछिल्लोपटक सोमबार बिहान ६ बजे सप्तकोसी नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक प्रतिसेकेन्ड पुगेपछि जोखिम बढेकाले सबै ५६ वटा ढोका खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोसी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्युसेक प्रतिसेकेन्ड छ । मधेसतिर खासै वर्षा नभए पनि पहाडी क्षेत्रमा अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको कन्ट्रोल रुमले जनाएको छ ।

कोसीमा पानीको बहाव उच्च भएपछि खतरासम्बन्धी संकेतस्वरूप ब्यारेजको पूर्वी कोणमा रातो झन्डासँगै रातो बत्ती बालिएको थियो । यद्यपि, पानीको जलस्तर घट्दै गएकाले सवारी आवागमन नरोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार सोमबार साँझ ६ बजेतिर बिहानको तुलनामा पानीको बहाव १ लाख ६१ हजार क्युसेक प्रतिसेकेन्डले घटेर ३ लाख १ हजार क्युसेक प्रतिसेकेन्डमा पुगेको छ ।

सप्तरी र सुनसरीको सीमामा पर्ने कोसी ब्यारेजमा वर्षाले निम्त्याउन सक्ने जोखिम’bout दुवै जिल्लाका प्रहरी प्रशासन ‘हाइ अलर्ट’ अवस्थामा रहेको उनले जानकारी दिए । सम्भावित जोखिम ध्यानमा राखी आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताए । साथै सुरक्षाका लागि आवश्यक व्यवस्था र रणनीति बनाउन स्थानीय प्रशासन जुटेको समेत उनले जानकारी दिए ।

यता, पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोसी आसपास तथा कोसी नदीले चारैतिर घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका बासिन्दामा त्रास फैलिएको छ । यहाँ १ सय परिवारका करिब ३ सय जनाको बसोबास छ । वडाअध्यक्ष कुशेश्वर यादवले वस्तीको पूर्वबाट कोसीको भंगालोले कटान गर्न थालेकाले स्थानीयमा त्रास फैलिएको बताए । समयमै कटान रोक्ने उपाय नगरिए यहाँका घरघरमा पानी पस्ने मात्र नभई घर नै बगाउने स्थानीयमा चिन्ता थपिएको वडाअध्यक्ष यादवले सुनाए ।

चारैतिर कोसीको भंगालोले घेरिएका ती बस्तीका बासिन्दा आपतविपद् परे २ घण्टा डुंगा चढेर हनुमाननगर बजार पुग्ने गरेको वडाअध्यक्ष यादवको भनाइ छ । नगर प्रमुख वीरेन्द्र माझीले गोबरगाढा वस्तीको अवस्था’bout आफू पूर्ण जानकार र निरन्तर सम्पर्कमा रहेको बताए । उनले ब्यारेजमा बहाव बढ्दै गए स्थानीयलाई सुरक्षित पार्दै कसरी व्यवस्थापन गर्न सकिन्छ निरन्तर निगरानीका रहेको बताउँदै नगरपालिकासँग भएका सबै स्रोतसाधन तयारी अवस्थामा राखिएको जानकारी समेत दिएका छन् ।राजधानीबाट