टिकाथलीदेखि रत्नपार्क, कलंकी र नागढुंगासम्म चन्द्रागिरीको बस सेवा शुरु

307

ललितपुर । सार्वजनिक यातायात सेवामा वडावासीको सरल र सहज पहुँचको माग पुरा गर्दै महालक्ष्मी नगरपालिका वडा नं ५ ले चन्द्रागिरी यातायात सेवा प्रालिसंग सहकार्य गरी शनिबारदेखि सो वडाको गोदावरी पुलदेखि रत्नपार्क हुँदै कलंकी र नागढुंगासम्म सार्वजनिक बस सेवा शुरु गरेको छ ।

शनिबारदेखि शुरु भएको चन्द्रागिरी यातायात सेवा प्रालिमा आवद्ध दैनिक ३० वटा यात्रुवाहक बस टिकाथलीको गोदावरी पुल (अन्तिम विसौनी) हुँदै इमाडोलको भगवती मन्दीर, जडिबुटी, कोटेश्वर, बानेश्वर, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै नागढुंगासम्म आवत जावत गर्ने छ । ती बसहरु यात्रुको चाप हेरि हरेक ५ देखि १० मिनेटमा छुट्ने बताइएको छ ।


सो वडाका वडाध्यक्ष एवम् अधिवक्ता कपिल केसीले शनिबार अपरान्हदेखि टिकाथली गोदावरी पुलस्थित अन्तिम बस विसौनीमा आयोजित एक कार्यक्रममा रिवन काटेर सो सार्वजनिक यातायात सेवाको शुभारम्भ गरेका थिए ।

हिजो शुक्रबार मात्रै चन्द्रागिरी यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठ लगायत पदाधिकारी र महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष एवम् पदाधिकारीवीच सो वडाबाट नागढुंगासम्म सार्वजनिक बस सेवा सञ्चालन गर्ने विषयमा दुईपक्षिय लिखित समझदारी भएको वडा सदस्य निरोज महर्जनले बताए ।

यसअघि सो मार्गमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको शुभकामना यातायात सेवाले साउन १५ देखि सो मार्गमा बस सेवा सञ्चालन बन्द गरेपछि अप्ठेरोमा परेका स्थानीय वासिन्दाको मागलाई सम्वोधन गर्दै चन्द्रागिरी यातायात सेवा प्रालिसंग सहकार्य गरि बस सेवा सञ्चालन गरेको वडाध्यक्ष कपिल केसीले बताए ।

चन्द्रागिरी यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठले सो समितिमा आवद्ध बसले सबै यात्रुलाई समान व्यवहार गर्दै यात्रुलाई कुनै गुनासो हुन नदिई निरन्तर सेवा दिने वचनवद्धता व्यक्त गरे ।
त्यस अवसरमा लालीगुराँस महिला शसक्तिकरण समाजकी अध्यक्ष ललिता खनियाले सार्वजनिक यातायात सेवाले स्थानीयवासिन्दालाई विभिन्न ठाउँमा आउन जान सहज हुने बताँइन् ।


सार्वजनिक यातायात सेवा शुभारम्भ गरेलगत्तै वडाध्यक्ष तथा वडाका पदाधिकारी, सो यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठ तथा अरु पदाधिकारीहरु र स्थानीयवासीहरुले गोदावरी पुलदेखि इमाडोलको भगवती मन्दीरसम्म निःशुल्क बसयात्रा गरि सोही ठाउँमा फर्केका थिए ।

गत बैशाखदेखि नेपाल यातायातको सार्वजनिक बस सेवा महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्यांकी नजिक मोतिमार्गदेखि कोटेश्वर, पुतलीसडक, नक्साल, महाराजगञ्ज हुँदै चावहिलसम्म चल्न शुरु भईसकेको छ ।

यी दुवै सार्वजनिक यातायात सेवा सञ्चालन भएपछि अब टिकाथली, इमाडोल र बालकोटका वासिन्दालाई समेत निकै सहज हुने बताइएको छ । (प्यासी)