कोशी सरकारविरूद्धको रिटमा आज सुनुवाइ हुँदै,

सर्वोच्चले अन्तरिम आदेश दिएमा कोशी प्रदेश सरकार फेरि पनि कामचलाउ

56

काठमाडौं । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज (बिहीबार) सुनुवाइ हुने भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको सर्वोच्चले जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट आजको पेसीमा चढेको छ । उक्त रिट एक न्यायाधीशको इजलासमा पेस भई अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशको माग हुन सक्नेछ । सर्वोच्चले अन्तरिम आदेश दिएमा कोशी प्रदेश सरकार फेरि पनि कामचलाउ बन्नेछ ।

सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै कार्कीले परमादेशको मागसहित बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री हुनुभएको थियो। तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिएपछि एमाले फेरि पनि सर्वोच्च पुगेको हो ।