आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छः उपप्रधानमन्त्री खड्का

142

भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खलबल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताउनुभएको हो ।

उहाँले सद्भाव खलबल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरू र आम नेपाली जनता सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानको रूपमा नेपाली समाज रहेको उल्लेख गर्दै उहाँले सो विविधताको पहिचानलाई जोगाउन सचेत भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले आपसी सद्भावको वातावरण बनाउन सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर नयाँ अभियान चलाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘केही समय यता देशको विभिन्न ठाउँमा विभिन्न नाममा हाम्रो अत्यन्त मित्रतापूर्ण तरिकाले बसेको समाज, एकताबद्ध भएर बसेको समाज, धेरै धर्म, धेरै जात, धेरै क्षेत्र, धेरै भूगोल, धेरै वर्ण, धेरै वर्गबाट हेर्दा, सुन्दा धेरै भए पनि तर हामी एकताको सूत्रमा बाँधिएर सदियौँदेखि एकताबद्ध भएर अगाडी बढेको मुलुक नेपालमा विभिन्न बहानामा, विभिन्न नाममा, सामाजिक सद्भाव खलबल्याउने, आम जनतामा निराशा उत्पन्न गर्ने, जनता–जनता, नागरिक–नागरिकका बिचमा विभिन्न बाहानमा द्वन्द्वको सिर्जना गर्ने खालका गलत घटनाहरूलाई प्रश्रय गराउने, बढाउने खालका प्रवृत्तिहरुपनि देख्न थालिएको छ ।

त्यसप्रति आम हामी नेपाली दाजुभाइ, दिदीबहिनीहरू, हामी सबै राजनीतिक दलहरू, सबै तहका सरकारहरू सचेत भएर आम नागरिकको बिचमा एकताको आवश्यकता, सामाजिक सद्भावको आवश्यकता त्यसको जगमा मुलुकको विकास निर्माणलाई अगाडी बढाउन सक्छौँ भन्ने खालको सन्देश लिएर आज देशभर एउटा अभियान चलाउनुपर्ने आवश्यकता छ । सामाजिक सद्भाव खलबल्याउने गतिविधिलाई रोक्न आवश्यकता छ । हामीले हाम्रो एकतालाई, सौहार्द्यतालाई, मिलेर बसेको समाजलाई, मिलेर बसेको विभिन्न धर्महरू, विभिन्न जातहरू, विभिन्न भूगोल विभाजित भए पनि हामी मिलेर सदिऔँदेखि बसेको नेपालीको एउटा विशेष पहिचान छ ।

त्यसलाई जोगाउनका लागि हामी अत्यन्त सचेत भएर, सजग भएर अगाडी बढ्न जरुरी छ । त्यसका लागि विभिन्न तहको सरकार, केन्द्रको सरकार, प्रदेशको सरकार, स्थानीय तहका सरकारहरू मिलेर सबैले आपसी सद्भावको वातावरण बनाउने एउटा नयाँ अभियान चलाउन जरुरी छ ।

जसको कारणले सामाजिक सद्भाव खलबल्याउनका लागि अघि बढ्नेहरू पनि निरुत्साहित हुन सकुन् । उनीहरू पनि आफ्नो गलत बाटोबाट फर्किएर फेरि समाजको एकतामा आउन सकुन् । त्यसका लागि वातावरण बनाउन आज जरुरी छ । त्यसप्रति हामी सबै विभिन्न तहका सरकारमा भएका जनप्रतिनिधिहरू, सरकारमा रहेकाहरू सबै सचेत भएर, कर्तव्यपरायण भएर, एकताबद्ध भएर अगाडी बढ्न जरुरी छ ।’

उहाँले सामाजिक सद्भाव खलबल्याउन अघि बढ्नेहरूलाई निरुत्साहित पार्नुपर्ने बताउनु भयो । आपसी सद्भावलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उहाँले बताउनु भयो ।

 यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले चाँगुनारायणको विकासको लागि मेरो आफ्नो क्षेत्र नभए पनि सक्दो प्रयास गर्ने बताउनुभयो ।

नगरपालिका र वडाको भवन ठुलो र भव्य बनाउनु भन्दा सेवा पनि सहज र सुलभ बनाउन पहिलो प्राथमिकताको कुरा भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको थियो ।

कार्यक्रममा पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेल, नगर प्रमुख जीवन खत्री , उपप्रमुख रमेश बुढाथोकी, लगायतका वक्ताले वडाको भवन बने पनि वडा सम्म पुग्ने बाटोमा सबैले सहकार्य गरी छिटो भन्दा छिटो सम्पन्न गराउनु पर्ने बताउनुभएको थियो ।