भक्तपुर । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कम्युनिस्ट लगायत अरू पार्टीको चर्चा गरेर नभई काँग्रेसलाई एकताबद्ध बनाएर लैजान नेता कार्यकर्ता लाग्नु पर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका दोस्रो सम्मेलनको उद्घाटन गर्दै उहाँले काँग्रेसले अरू पार्टीको चर्चा गर्नु भन्दा आफ्नो पार्टीको एकतालाई बलियो बनाउन लाग्नु पर्ने बताउनु भएको हो ।
काँग्रेस सहमहामन्त्री पाण्डेले भन्नुभयो, “नयाँ पार्टी चमक धमकका साथ टिकटके शैलीमा आएका छन्, त्यस्ताको कुरा गरिरहनु पर्दैन, काँग्रेसलाई एकता, उत्साह र रूपान्तरणका लागि लाग्नुस् र पार्टीलाई एकताका साथ बलियो बनाउनुहोस् ।” उहाँले काँग्रेस यतिखेर सत्तामा रहेकाले स्थानीय तहमा जहाँ जहाँ काँग्रेसबाट जनप्रतिनिधि जितेका छन्, ती वडादेखि नगरपालिकासम्ममा जनताले महसुस गर्नेगरि काम गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “वडादेखि सङ्घीयसम्ममा जहाँ जहाँ काँग्रेसका उम्मेदवार विजयी हुनु भएको छ, यही बेला हो, आफ्ना क्षेत्रमा कार्य गरेर देखाउन सक्नु पर्छ, काँग्रेसको शासन, सेवा प्रवाह अरूले गरेको भन्दा राम्रो छ भनेर जनताको मन र विश्वास जित्ने गरी काम गर्नुस् ।” उहाँले पार्टीको संरचनालाई गाउँ वडातह देखिनै बलियो बनाएर लैजानु पर्नेमा जोड दिँदै काँग्रेसले अब कतै पनि हार्ने होइन जित्ने आधार बनाएर जानु पर्ने बताउनु भयो ।
उहाँले अहिलेको समयलाई पार्टीले चिन्न नसकेको टिप्पणी गर्दै यतिखेर देश र जनताका लागि आवश्यकता के छ, नागरिकको चाहना के हो, अब कसरी जनताको पक्षमा जान सकिन्छ भनेर गम्भीर चिन्तन गरेर अगाडि बढ्न नसके काँग्रेस मात्रै नभई कुनै पनि पार्टी अब रहन नसक्ने बताउनुभयो ।
यतिखेर जनताले राजनीतिक परिवर्तनको चाहना नराखेको बताउँदै उहाँले जनता यतिखेर मंहगी, गरिबी र बेरोजगारीले आक्रान्त भएकाले यी समस्या समाधानतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । काँग्रेसका नेतादेखि कार्यकर्तासम्मले नेपाली काँग्रेस के हो, यसको मूल मर्म के हो, बिचार के हो भन्ने बिर्सन थालेको भन्दै उहाँले काँग्रेसले पार्टीको मर्म, बिचार, सिद्धान्तलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली काँग्रेसले पार्टी र जनभावनालाई अङ्गीकार गर्दै अगाडि जानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, अर्का केन्द्रीय सदस्य रमा कोइरालाले नेपाली काँग्रेसले विकास केन्द्रीय कार्यक्रमलाई जनता माझ लैजानु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले भक्तपुरको विकासमा काँग्रेसले गति लिएको बताउनु भयो । उहाँले काँग्रेसले आफ्नै भवन निर्माण गर्न जग्गा खरिद गरिसकेको र अब भवन निर्माण कार्य अगाडि बढाउन लागेको बताउनुभयो ।
भक्तपुरका नगरपालिकादेखि प्रदेश र केन्द्रीय सरकारबाट बजेट ल्याएर विकासका आयोजनाहरू अगाडि बढाएको बताउँदै भक्तपुर काँग्रेसले एकताबद्ध रूपमा पार्टीलाई अगाडि बढाउँदै बलियो बनाएर लगेको बताउनुभयो ।
नेपाली काँग्रेस महासमिति सदस्य एव बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सङ्घीयता कार्यान्वयन नेपाली काँग्रेस नै दृढ भएर लाग्नु पर्ने बताउनुभएको छ । उहाँले हाल सङ्घीयताको मर्म सार्थक रूपमा प्रयोग नहुँदा नयाँ तथा पुराना पार्टीहरूले यसको विरोध गर्दै राजनीतिको रोटी सेकी रहेको बताउँदै उहाँले सङ्घले प्रदेशहरूमा प्रत्यायोजन गर्नु पर्ने काम कर्तव्यहरू छिटो भन्दा छिटो प्रत्यायोजन गर्न नेपाली काँग्रेसले नै अगाडी बढ्नु पर्ने उहाँले बताउनुभएको थियो ।
यस्तै उहाँले क्रियाशील सदस्य नवीकरणमा सबै एक जुट भएर लाग्न समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा काँग्रेस सूर्यविनायक नगर समिति सभापति एवं कार्यक्रमका सभापति निशान ढुङ्गेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सङ्गठनलाई ५८ गाउँ टोल तह देखिनै मजबुत र एकताबद्ध बनाएर लगेको बताउनु भयो । उहाँले काँग्रेसले जिल्ला पार्टी कार्यालयको भवन निर्माण सुरु गर्न लागेकाले त्यसलाई पूर्णता दिन सबै लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सचिव विश्वराम थापा, सुमन न्यौपानेले नीति तथा सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो । कार्यक्रममा काँग्रेसका पुराना कार्यकर्ता एवं प्रजातन्त्र ल्याउन लाग्ने आठ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सममान गरिएको थियो ।