महेन्द्रग्राम माविको ६५ औं वार्षिकोसत्सव सम्पन्न

65

भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सब सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ८ को उक्त विद्यालयको वाषिर्कोत्सव आइतबार सम्पन्न भएको हो ।
सो वार्षिकोत्सबको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, उप नगरप्रमुख रमेश बुढाथोकीलगायतले पानसमा दिप प्रज्ज्वलन गरि गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकाको शैक्षिक स्तर वृद्धिका लागि नगरपालिकाले विभिन्न नीति बनाएर काम गरिरहेको बताए । उनले नगरको शिक्षाका लागि नगरपालिकाले अनुगमनलाई तीब्रता दिइरहेको जनाए । उनले शिक्षा सुधारका लागि अनुदान शिक्षकको बन्दोवस्त गरेको, विद्यालय खाजाका लागि रकम थप गरेको उल्लेख गर्दै विद्यालय सुधारका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण हुने भएकाले शिक्षकको प्रोत्साहनका लागि नगरपालिका कटिबद्ध रहेको बताए ।
नगर उपप्रमुख रमेश बुढाथोकीले सुडालका विद्यालयहरूमध्ये महेन्द्रग्राम मावि उदाहरणीय रहेको उल्लेख गर्दै सफलताको कामना गरे ।
उनले नगरपालिकाले विद्यार्थी तथा शिक्षकको मागलाई मध्यनजर गरि नगरपालिकाले विद्यार्थी खाजा कार्यक्रममा रकम थप गरेको बताए । उनले आगामी दिनमा पनि नगरपालिकाले शिक्षाको उन्नतिका लागि लागिरहने नीति तय गरेको बताए ।
चाँगुनारायण नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता जनक खत्रीले नगरपालिकाको उत्कृष्ट विद्यालयमध्ये महेन्द्रग्राम मावि पनि अब्बल रहेको उल्लेख गर्दै नगरपालिकामा सुडाललाई शैक्षिक हब बनाउनका लागि आफू लागिरहेको बताए ।
उनले सो क्रममा विद्यालयको विकासका लागि आफू प्रतिवद्द रहेको जनाए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धिका लागि अनुगमन गरिरहेको उल्लेख गर्दै विद्यालयको उन्नतिका लागि विद्यालय व्यवस्थापन समितिको सक्रियता महत्त्वपूर्ण हुने जनाए ।
उनले चाँगुनारायण नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्येको एक विद्यालयका रूपमा रहेको महेन्द्र ग्राम स्कुलको शैक्षिक र भौतिक प्रगतिका लागि प्रतिवद्दता समेत जनाए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका पूर्व नगरप्रमुख सोम मिश्रले विद्यालयले क्रमशः भौतिक र शैक्षिक प्रगति गरिरहेको स्मरण गर्दै महेन्द्रग्राम मावि जिल्लासँगै नगरकै उत्कृष्ट भएको बताए ।
सोही विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका उनले सामुदायिक विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या बढ्नुमा महेन्द्र ग्राम माविको व्यवस्थापन समिति, शिक्षकहरूको अहोरात्र खटाइ, अभिभावकको साथ र सहयोग रहेको बताए ।


सोड नेपालका अध्यक्ष ज्ञानु श्रेष्ठले महेन्द्रग्राम स्कुलले हरेक वर्ष शैक्षिक उन्नति गरिरहेको उल्लेख गर्दै विद्यालयको प्रगतिको कामना गरे ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावक, स्थानीय व्यक्ति, शिक्षासेवी र विद्यालयका शुभचिन्तकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न सो वार्षिकोत्सबका अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी, विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी ज्योति कार्कीले महेन्द्रग्राम माविमा अध्ययन गर्न पाउँदा खुसी रहेको उल्लेख गर्दै स्कुलको शैक्षिक वातावरण विद्यार्थीमैत्री हुँदा धेरै विद्यार्थी सन्तुष्ट रहेको बताइन् ।
कार्यक्रमका अवसरमा विद्यालयमा अध्ययन विद्यार्थीहरूले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय वि सं २०१५ साल भदौ १७ गते स्थापना भएको थियो । प्ले ग्रूपदेखि कक्षा १२ सम्म र प्रि डिप्लोमा समेत अध्यापन भइरहेको उक्त विद्यालयको वालविकास तहमा १९७ जना, कक्षा १ देखि ५ सम्म २०८ जना, कक्षा ६ देखि ८ सम्म ११२ जना, कक्षा ९ र १० मा ६९ जना र कक्षा ११ र १२ मा ३६ जना गरि ६२२ जना विद्यार्थीहरू अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठले बताए । उनले विद्यालयमा ५२ जना शिक्षक कर्मचारी कार्ररत रहेको जानकारी दिँदै विद्यालयको सिकाइ उपलब्धि सन्तोषप्रद रहेको बताए ।
विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक श्रेष्ठले विद्यालयको भावी नीति तथा कार्यक्रमबारे जानकारी दिए ।
सो क्रममा विद्यालयको भौतिक, शैक्षिकलगायतमा सहयोग गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उनले कार्यक्रमलाई सभ्य र भव्य बनाउन तथा विद्यालयको स्तरोन्नतिका लागि योगदान दिने सबैलाई धन्यवाद दिए ।