भूकम्प प्रभावितलाई जेठ १३ देखि ट्याक्सी

414

काठमाडौंः भूकम्प प्रभावितलाई राहत स्वरूप उपलब्ध गराउन लागिएको ट्याक्सीको नम्बर प्लेट आगामी साता वितरण गरिने भएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनका कारण ट्याक्सीको नम्बर प्लेट वितरण रोकिएको थियो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका प्रभावितले जेठ १३, १४ र १५ गतेसम्मा १५ सय ट्याक्सी नम्बर प्लेट पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले चैत २६ गते वितरण गर्न लागेको ट्याक्सी नम्बर प्लेट पहिलो चरण अन्तर्गतको स्थानीय तह निर्वाचन आचारसंहिताका कारण रोकिएको थियो । निर्वाचन सम्पन्न भएसँगै विभागले ट्याक्सी वितरणको मिति तय गरेको हो । गोला प्रथाबाट ट्याक्सी नम्बर प्लेट वितरणका लागि समय तोकेको हो ।

सरकारले ०७२ को भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दर्ता गर्न आवेदन माग गरेको थियो । यातायात व्यवस्था कार्यालय बागमती साना÷ठूला सवारीले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म ट्याक्सी दर्ताका लागि आवेदन लिएको थियो ।

एक महिनाको अवधिमा भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडित परिचयपत्र भएकाहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । उक्त अवधिमा १ लाख ४९ हजार आवेदन कार्यालयमा पेस भएको थियो ।

विनाशकारी भूकम्पबाट अति प्रभावितहरूलाई राहत मिलोस र रोजगारीको वातावरण बनोस भनेर सरकारले गरेको निर्णयअनुसार १५ सय नयाँ ट्याक्सी दर्ता गर्न दिने निर्णय सरकारले गरेको थियो ।

१५ सय नयाँ ट्याक्सी गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट अति प्रभाविग १४ जिल्लाका पीडितले पाउने व्यवस्था सरकारले गरेको हो ।
सरकारले तोकेको भूकम्प अति प्रभावित १४ जिल्लाका सबै पीडितहरूले नयाँ ट्याक्सी दर्ताका लागि आवेदन दिन पाउने निर्णय भएको थियो ।

उक्त जिल्लाका सबै वर्गका इच्छुक भूकम्पपीडितहरूले ट्याक्सी प्राप्तिका लागि आवेदन दिएका थिए । यसरी दर्ता हुने सबै ट्याक्सी बागमती अञ्चलमा दर्ता भई सञ्चालन हुने छन् । गोला प्रथाबाट वितरण हुने ट्याक्सी कुनै एक सञ्चार माध्यमबाट प्रत्यक्ष  देख्ने गरी गोला प्रथा गरिने भएको छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार १ लाख ४९ हजार आवदेक मध्येबाट तीन दिन लगाएर ट्याक्सी नम्बर प्लेट वितरण हुनेछ । आवेदकको संख्या बढी भएकै कारण  वितरणमा ढिलाइ भएको पाण्डेको भनाइ छ ।

विभागले फागुन २४ गतेसम्म पीडितको नामावलीमा  त्रुटि वा विवरण फरक परेमा सञ्चाउन समेत सयम दिएइको थियो । विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत तथा अनुदान पाउने छैनन् । आवेदक धेरै भएकाले गोला प्रथा गर्नसमेत तीन दिन लाग्ने पाण्डेले बताए ।