भक्तपुरमा डेङ्गु अभिमुखीकरण कार्यक्रम सम्पन्न

34

भक्तपुर ।   डेङ्गु सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको आयोजनामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरअन्तर्गत रहेका चार वटै नगरपालिका भित्रका विद्यालयका जुनियर युवा रेडक्रस सर्कल, विद्यालयका शिक्षक नायक,  नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि, जिल्ला शिक्षा समन्वयन इकाई प्रतिनिधि लगायतको अभिमुखीकरण कार्यक्रममा सहभागिता रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निमित्त कार्यालय प्रमुख शान्तिराम खतिवडा तथा जिल्ला स्वास्थ्य निरीक्षक दीपक अच्छामिले अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो ।

जिल्लाका ४ वटै नगरपालिकाबाट उपस्थित शिक्षक नायकहरूको ४ समूह निर्माण गरी नगरपालिका अनुसार आफ्नै योजना निर्माण गरी डेङ्गु नियन्त्रणको लागि प्रतिकार्य योजनाको खाका समेत निर्माण गरिएको भक्तपुर जिल्ला शाखाले जनाएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (IFRC) को समन्वयमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले डेङ्गु रोकथाम तथा प्रतिकार्य  (DREF) कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कार्यवाहक सभापति कृष्णेश्वरी हाडा, शाखाका मन्त्री परशुराम पाण्डे, कोषाध्यक्ष प्रदीप कुमार के.सी., जिल्ला कार्यसमिति सदस्यहरू सुभद्रा काफ्ले, किरण पौडेल, धर्म कार्की र नेरे सो भक्तपुरकी कार्यालय प्रमुख उमा थापा साथै डेङ्गु रोकथाम तथा प्रतिकार्य कार्यक्रमका कार्यक्रम फोकल पर्सन उद्धव नेपाल सहित अन्य कर्मचारी तथा स्वयंसेवकको उपस्थिति रहेको थियो ।