काभ्रे बनेपाबाट देह व्यापारको आरोपमा होटल सञ्चालक पक्राउ

61

काभ्रे । होटलमा युवतीहरु राखी देह व्यापार गराएको आरोपमा होटल संचालक पक्राउ परेका छन् । होटलमा युवती राखी देह व्यापारमा लगाएको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले बनेपा नगरपालिका ८ मा रहेको सगरमाथा गेस्ट हाउसका संचालकलाई पक्राउ गरेको हो ।

होटलमा युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकसँग यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची ७ की ४५ वर्षीया मनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रेशम बोहोराका अनुसार शुक्रबार साँझ होटलमा युवतीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीको टोलीले होटल सञ्चालक तामाङ पक्राउ गरेको हो । घटनास्थलबाट प्रहरीले दुई युवतीलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए ।

तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाउन जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद लिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको समेत प्रहरीले जानकारी दिएको छ ।