राधेराधेदेखी निकाशेरा सम्म पार्किङ निषेध

1408

भक्तपुर । राधेराधे चोकदेखी निकाशेरा जाने मुख्य सडकमा आजदेखी पार्किङ निषेध गरिएको छ । पछिल्लो समय व्यस्त व्यापारिक क्षेत्रको रुपमा विकास भएको राधेराधेमा अव्यस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढेको भन्दै आज मंगलबार देखि पार्किङ निषेध गरिएको हो ।

अव्यवस्थित पार्किङका कारण बजार सौन्दर्य समेत प्रदुषित भएको र दुर्घटनाको संभावना बढि भएपछि मध्यपुर थिमि नगरपालिका र महानगरिय ट्राफिक प्रहरी परिसर भक्तपुरको संयुक्त पहलमा सो क्षेत्रमा पार्किङ निषेध गरिएको हो ।

पहिलो चरणमा राधेराधे चोकदेखी करिव २ सय मिटरमा पार्किङ निषेध गरिएको ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक सन्तोष न्यौपानेले बताउनुभयो । “अहिले हामी पहिलो चरणमा छौं । जनशक्ति पनि केही अभाव छ । त्यसैले अहिले राधेराधे चोकबाट करिव २ मिटरलाई पार्किङ निषेध गरिएका छौं,” उहाँले भन्नुभयो । उहाँले क्रमशः रोधराधेदेखी निकोशेरासम्म पार्किङ निषेध गरिने जानकारी दिनुभयो ।

पार्किङका लागि विकल्पको रुपमा भाटभटेनी सुपर मार्केट र भित्रि सडकमा व्यवस्था गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । राधेराधे चोक अत्यन्त व्यस्त भएको र साँघुरो सडकका कारण जुनसुकै बखत ठूलो दुर्घटना हुने जोखिम बढेको र जथाभावी पार्किङका कारण ट्राफिक जाम हुने गरेको जनगुनासो बढेका कारण पनि उक्त मूख्य सडकमा पार्किङ निषेध गरिएको उहाँले बताउनुभयो ।