राष्ट्रपति पौडेललाई इजरायली राजदूत गोडरद्वारा विपि कोइरालाको भाषणको प्रतिलिपि हस्तान्तरण

21

काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालका लागि इजरायली राजदूत हनान गोडरले मंगलबार राष्ट्रपति निवासमा औपचारिक भेट गर्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (विपि) कोइरालाको भाषणको प्रतिलिपि हस्तान्तरण गरेका छन् ।
विपि कोइरालाले सन् १९६० अर्थात आजभन्दा ६३ वर्ष अघि इजरायलको औपचारिक भ्रमणका क्रममा इजरायलको एक कार्यक्रममा भाषण गरेको र सो भाषणको लिखित प्रतिलिपि राजदूत गोडरले इजरायलको अभिलेखालयबाट ल्याएको बताएका छन् ।
नेपाली राजनीतिका शिखर पुरुष एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर राजदूत गोडरले स्वर्गीय कोइरालाको भाषणको प्रतिलिपि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।


राजदूत गोडरले मंगलबार राष्ट्रपति पौडेलसंगको भेटका क्रममा नेपाल र इजरायल बीचको दौत्य सम्वन्धदेखि इजरायल सरकारले नेपालको कृषि लगायतको क्षेत्रमा गर्दै आएको गतिविधिबारे जानकारी गराएका थिए । भेटघाटमा राजदूतावासकी अधिकारी आनया फ्रान्का पनि सहभागी थिइन् ।
राष्ट्रपति पौडेलसंगको मंगलबार भएको औपचारिक भेटघाटबारे राजदूत गोडरले इजरायली राजदूतावासको पेजबाट सार्वजनिक गरेका छन् ।