वीरगन्ज — वीरगन्ज महानगरपालिका–४, विर्तास्थित बाल सुधार गृहमा मंलगबार रातभरि तनावग्रस्त बनेको छ । केही दिन अगाडि मात्र भक्तपुरबाट पठाइएका बालकैदीले यहाँका नाइकेलाई कुटपिट गरेपछि विवाद सुरु भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले राति स्थिति नियन्त्रणमा लिएको थियो । ११ जना घाइतेको नारायणी अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक शाहले केही दिन अगाडि भक्तपुरबाट यहाँ पठाइएका बाल कैदीबन्दीले सामान्य कुरामा पनि विवाद झिकिराखेको दाबी गरे । ‘मंगलबार राति करिब ८ बजेको समयमा नाइकेलाई भक्तपुरको टोलीले कुटेपछि विवाद सिर्जना भएको थियो,’ एसपी शाह भन्छन्, ‘नाइकेलाई किन कुटेको भन्दै अर्को पक्षका बालकैदी बन्दीले प्रतिकार गरेपछि विवाद भएको थियो ।’
दुई पक्षबीच कुटाकुट भएपछि प्रहरीले स्थिति नियन्त्रण लिन खोज्दा भित्रबाट प्रहरीमाथि ढुंगामुढा गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गरेको एसपी शाहले बताए ।
वीरगन्जको बालसुधार गृहमा हाल १ सय ४९ बालकैदी बन्दी रहेका छन् । भक्तपुरको बाल सुधार केन्द्रमा भएको विवादपछि यहाँ पठाइएका बालकैदीले सुरुदेखि विवाद गर्न खोजेको प्रहरीले जनाएको छ । मंगलबार रातिको झडपमा घाइते भएका ११ जना मध्ये १० जना भक्तपुरको टोली रहेको एसपी शाहले जनाए । बालकैदी बन्दीहरुले सुधार गृहमा बासी खाना खुवाएको, यातना दिएकोलगायतका गुनासा सञ्चारकर्मीसँग गरेका थिए ।