‘सातौं संस्करणको उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ असोज २७ गते हुने

36

काठमाण्डौ । हरेक वर्ष हिन्दुहरुको महान चाड वडा दशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार सञ्चालन हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को सातौं संस्करण आउँदो असोज २७ गते शनिबार हुने भएको छ ।
उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको ५ किलोमिटर दुरीको दौडको तयारीबारे उज्ज्वल तारा स्कुलमा शनिबार छलफल कार्यक्रमको आयोजना गरि हालसम्मको तयारीबारे जानकारी दिइयो ।


विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको छलफलमा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि, प्रहरी अधिकारी, स्थानीय समाजसेवी तथा पत्रकारहरुको सहभागिता थियो ।
दौडका संयोजकएवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले दौडको तयारीबारे जानकारी दिँदै गतवर्षमा झैं यो वर्ष पनि विभिन्न ७ वटा उमेर समूहको विधामा प्रतियोगिता आयोजना गरिने बताए ।
महासेनानी कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा गरि ७ वटा विधा रहने छ ।


दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए ।
कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।