बागमती प्रदेशका विपन्नलाई रगत निःशुल्क उपलब्ध हुने 

183

काठमाडौँ । बागमती प्रदेशका अस्पतालमा बिरामीले रगत निःशुल्क रूपमा पाउने भएका छन् ।

बागमती प्रदेश अन्तर्गतका अस्पतालहरूमा नेपाल रेडक्रस मार्फत विपन्न बिरामीले निःशुल्क रगत पाउने भएका हुन् ।

बागमती प्रदेशका स्थायी बासिन्दा तथा विपन्न वर्गलाई लक्षित गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा सम्झौता गर्दै विपन्न जनतालाई निःशुल्क रगत उपलब्ध गराउन लागेको हो  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले संयुक्त रूपमा हस्ताक्षर गर्दै बागमती प्रदेशमा विपन्न वर्गका निमित्त निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा प्रतिबद्धता गइनुभएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्न र गरिबहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि सरकार प्रयासरत रहेको बताउनुभयो । मन्त्री बस्नेतले बागमती प्रदेशको बिरामीलाई आवश्यक रगत पनि निःशुल्क उपलब्ध गराउने कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गरिब र विपन्न नागरिकलाई सहज स्वास्थ्य उपचार होस भन्ने उद्देश्यले नीति तथा कार्यक्रम तयार गरेको र सोही अनुसार नेपाल रेडक्रससँग निःशुल्क रगतका लागि सम्झौता गरिएको बताउनुभयो ।

रगत निःशुल्क हो, तर रगतको राख्ने ब्याग, विभिन्न परीक्षण लगायतका शीर्षकमा लाग्ने खर्च मात्रै लिने गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले बताउनुभयो । अध्यक्ष नेपालले बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश तथा स्थानीय पालिकाहरूले देखाएको तत्परताको प्रशंसा गर्नुभयो । उहाँले देशैभर बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो ।

सम्झौता अनुसार विपन्न बिरामी नागरिकहरूले वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार स्त्री रोग अस्पताल लगायत स्वास्थ्य मन्त्रालय बागमती प्रदेशबाट सूचिकृत भई सेवा विस्तार भएका अस्पतालहरूबाट निःशुल्क रगत प्राप्त गर्न सक्नेछन् ।

बाग्मती प्रदेशले नेपाल रेडक्रससँग निः शुल्क रगत उपलब्ध गराउने र  शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर अस्पतालसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ।

यस्तै कार्यक्रममा बाग्मती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति एक लाख रुपियाँ सहुलियतमा थप ५० हजार रुपियाँ उपलब्ध गराइरहेको र  हृदय रोगका बिरामीलाई एक लाखमा थप गरेर एक लाख १० हजार उपलब्ध गराउने विषयमा समेत सम्झौता भएको छ ।

कार्यक्रममा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गङ्गालाल अस्पताल, मनमोहन कार्डियो अस्पतालका निर्देशकहरू, स्वास्थ्य मन्त्रालयका सचिव, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश, काठमाडौँ, भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरू, केन्द्रीय कार्यालयका निर्देशकहरू, युवा रेडक्रस सर्कलका प्रतिनिधिहरूलगायतको उपस्थित रहेको थियो ।

बागमती प्रदेशमा रगत निःशुल्क उपलब्ध गराउन सदन देखि सडक सम्म प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले माग गर्दै आउनुभएको थियो । उहाँले सबै जनतालाई स्वास्थ्य पहुँच तथा दीर्घ रोगीका परिवारलाई जीविकोपार्जनको मार्गको समेत माग गर्दै आउनुभएको छ ।

उहाँले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बिहीबार विपन्न वर्गका लागि निःशुल्क रगत उपलब्ध गराउने साथै दीर्घ रोगीको लागि उपचारका लागि दिँदै आएको रकम थप भएकोमा खुसी व्यक्ति गर्नुभएको थियो ।